
तेहरान, 17 जुलाई (हि.स.)। इरानका सशस्त्र सेनाका वरिष्ठ प्रवक्ता ब्रिगेडियर जनरल अबोलफजल शेकारचीले बिहीबार (स्थानीय समय) चेताउनी दिँदै इरानका सैन्य केन्द्रहरूमाथि आक्रमण भएमा तेहरानले सम्पूर्ण पश्चिम एसियामा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाउने बताएका छन्। उनले होर्मुज जलडमरूमध्यमा असुरक्षाको मुख्य कारण अमेरिकी सेनाको उपस्थितिलाई ठहर गरेका छन्।
इरान वायर, इस्लामिक रिपब्लिक अफ इरान ब्रड्कास्टिङ (आईआरआईबी) र फक्स न्यूजका अनुसार शेकारचीले आईआरआईबीसँगको अन्तर्वार्तामा अमेरिका र इजरायललाई यस क्षेत्रमा उपस्थित रहने कुनै अधिकार नभएको बताएका छन्। उनका अनुसार, होर्मुज जलडमरूमध्य इरानको नियन्त्रणमा सुरक्षित छ र यस रणनीतिक जलमार्गमा बढ्दो तनाउका लागि अमेरिकी सेनाको गतिविधि जिम्मेवार छ। उनले छिमेकी देशहरूलाई इरानसँग सहयोग गर्न पनि आग्रह गरेका छन्।
शेकारचीले भने, यदि इरानलाई कुनै क्षति पुर्याइयो भने यस क्षेत्रमा रहेका सम्पूर्ण अमेरिकी पूर्वाधार हाम्रो निशानामा पर्नेछन्। हामी शत्रुमाथि पूर्ण शक्तिका साथ आक्रमण गर्नेछौँ र आवश्यक परे वर्षौँसम्म लड्न तयार छौँ।
उनको यो अभिव्यक्ति इरानको खतम अल-अम्बिया केन्द्रिय मुख्यालयका प्रवक्ताले दिएको यस्तै चेताउनीपछि आएको हो। खतम अल-अम्बिया इरानको सबैभन्दा ठूलो सञ्चालन कमान्ड एकाई हो, जसले सेना र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) बीच सैन्य अभियानको समन्वय गर्छ।
मुख्यालयले जारी गरेको वक्तव्यमा अमेरिकालाई कुनै पनि परिस्थितिमा होर्मुज जलडमरूमध्यमा हस्तक्षेप गर्न नदिइने उल्लेख गरिएको छ। वक्तव्यमा भनिएको छ, अमेरिकाले इरानको तेल तथा ग्यास निर्यात मार्गलाई निशाना बनाएको आरोप लगाउँदै यस्तो गतिविधि नरोकिए अमेरिकासँग सम्बन्धित तथा उसका सहयोगीहरूको हित जोडिएका सबै पूर्वाधार ध्वस्त पारिनेछ।
यो चेताउनी अमेरिकाले हालैका दिनहरूमा इरानका दक्षिणी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी पुनः शुरु गरेको तथा दक्षिणी सैन्य अड्डाहरूमा हवाई आक्रमण तीव्र बनाएको दाबीबीच आएको हो।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता नभए इरानका ऊर्जा पूर्वाधार, विद्युत् केन्द्र र पुलहरूलाई समेत अमेरिकी आक्रमणको निशाना बनाइने चेताउनी दिएका थिए। फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले भनेका थिए, आगामी साताहरू इरानका लागि निकै कठिन हुनेछन्। अमेरिकाले पावर प्लान्ट र पुलहरूमा पनि आक्रमण गर्नेछ।
हिन्दुस्थान समाचार / बिशाल