मनसुनजन्य आपदा प्रभावित क्षेत्रमा सवारी सञ्चालनमा रोक
भूस्खलन से बंद राजमार्ग


काठमाडौं, 19 जुलाई (हि.स.)। बाढी, पैह्रो तथा डुबानको जोखिम बढ्दै गएपछि नेपाल सरकारले मनसुनबाट प्रभावित क्षेत्रमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। जल तथा मौसम विज्ञान विभागले देशका ३५ जिल्लामा भारीदेखि अति भारी वर्षाको चेताउनी जारी गरेसँगै राष्ट्रिय आपदा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयारीलाई तीव्र बनाएको छ।

प्राधिकरणका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत प्रदीप कुमार कोइरालाका अनुसार, यो निर्णय विशेष गरी पैह्रो र बाढीको उच्च जोखिम रहेका सडक खण्डमा यात्रुको सुरक्षा सुनिश्चित गर्नका लागि गरिएको हो। उनले हालको जोखिमलाई ध्यानमा राख्दै पैह्रो प्रभावित जिल्लाहरूमा सवारी सञ्चालन नगर्न अनुरोध गरिएको बताए।

उनले वास्तविक मौसम र सडकको अवस्थाको मूल्याङ्कन गरेपछि मात्र सवारी सञ्चालनको अनुमति दिइने स्पष्ट पारे।

कोइरालाले प्राधिकरणले सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सडक विभागसँग निरन्तर समन्वय गरिरहेको जानकारी दिए। सम्बन्धित निकायले अवस्था पूर्ण रूपमा सुरक्षित रहेको पुष्टि गरेपछि मात्र राजमार्ग तथा अन्य सडकमा सवारी सञ्चालन गर्न अनुमति दिइने उनले बताए।

प्राधिकरणले सर्वसाधारणलाई यात्रा अघि मौसम र सडकसम्बन्धी आधिकारिक सूचना तथा परामर्श पालना गर्न, उच्च जोखिम भएका मार्गमा अनावश्यक यात्रा नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गरेका निर्देशनहरू अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande