
रायपुर, 0५ जुलाई (हि.स.)। छत्तीसगढ़की प्रसिद्ध लोक कलाकार तथा पण्डवानी गायनलाई अन्तरराष्ट्रिय पहिचान दिलाउने पद्म विभूषण डा. तीजन बाईको ७० वर्षको उमेरमा निधन भएको छ। शनिबार बिहान ३:१५ बजी रायपुरस्थित एम्स अस्पतालमा उपचारका क्रममा उनले अन्तिम श्वास लिइन्। उनी केही समयदेखि अस्वस्थ थिइन्। उनको निधनप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स मार्फत शोक व्यक्त गर्दै लेखेका छन्, “प्रसिद्ध पण्डवानी गायिका तीजन बाईजीको निधनको खबरले अत्यन्त दुःखी बनाएको छ। उहाँले छत्तीसगढ़को यस लोककलालाई आफ्नो उत्कृष्ट प्रस्तुतिमार्फत विश्वभर विशिष्ट पहिचान दिलाउनुभयो। उहाँको निधन कला तथा संस्कृति क्षेत्रका लागि अपूरणीय क्षति हो। यस दुःखद घडीमा मेरा समवेदना उहाँका परिवारजन तथा प्रशंसकहरूसँग छन्। ॐ शान्ति!”
भारतीय लोककलामा अतुलनीय योगदान पुर्याएबापत तीजन बाईलाई पद्मश्री, पद्म भूषण तथा भारतको दोस्रो सर्वोच्च नागरिक सम्मान पद्म विभूषण प्रदान गरिएको थियो। बाल्यकालमा विद्यालय जान नपाएकी उनी साक्षरता अभियानमार्फत कठिनाइका साथ पाँच कक्षासम्म अध्ययन गर्न सफल भएकी थिइन्। तर पण्डवानी गायनमा उनको असाधारण प्रतिभाका कारण उनले भारत रत्न बाहेक लगभग सबै प्रतिष्ठित राष्ट्रिय सम्मान प्राप्त गरिन्। उनलाई चार पटक डी.लिट्. (मानार्थ विद्यावारिधि) को उपाधि पनि प्रदान गरिएको थियो।
२४ अप्रेल, १९५६ मा भिलाई नजिकैको गनियारी गाउँमा पिता चुनुकलाल परधा र माता सुखवतीका सन्तानका रूपमा जन्मिएकी तीजन बाईको जीवनयात्रा निकै संघर्षपूर्ण थियो। पण्डवानी गायनकै कारण समाजले उनलाई बहिष्कारसमेत गरेको थियो। तर उनले सबै कठिनाइका बावजुद आफ्नो गायनलाई कहिल्यै त्यागिनन्।
पारधी जनजातिकी तीजन बाईले आफ्ना हजुरबुबा ब्रजलालबाट महाभारतका कथाहरू गाएर सुनाएको सुन्दै हुर्किएकी थिइन्। विस्तारै ती कथाहरू उनले कण्ठस्थ गरिन्। उनको प्रतिभा र समर्पण देखेर लोकगायक उमेद सिंह देशमुखले उनलाई औपचारिक प्रशिक्षण दिएका थिए।
केवल १३ वर्षको उमेरमा उनले पहिलो सार्वजनिक प्रस्तुति दिएकी थिइन्। त्यस समय महिलाहरूले पण्डवानी वेदमती शैलीमा बसेर मात्र गाउन पाउने परम्परा थियो भने पुरुषहरूले कापालिक शैलीमा उभिएर प्रस्तुति दिन्थे। तीजन बाई कापालिक शैलीमा पण्डवानी प्रस्तुत गर्ने पहिलो महिला कलाकार बनेर इतिहास रचेकी थिइन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी