
हाथरस, 0५ जुलाई (हि.स.)। विवाह गर्ने आश्वासन दिएर बलात्कार गरेको, गर्भवती भएपछि गर्भपतन गराएको, दुई लाख ८० हजार भारतीय रुपियाँ तथा सुन-चाँदीका गरगहना हडपेको र छोराको हत्या गर्ने धम्की दिएको आरोपमा एक महिलाले युवकविरुद्ध मुद्दा दर्ता गराएकी छन्। घटनाबारे प्
पुलिसले अनुसन्धान शुरु गरेको छ।
पुलिसका अनुसार, मुद्दा शुरुमा मथुरा जिल्लाको बलदेव थानामा दर्ता गरिएको थियो। तर घटनास्थल सादाबाद क्षेत्रअन्तर्गत परेको पुष्टि भएपछि अनुसन्धान सादाबाद पुलिसमा स्थानान्तरण गरिएको हो। आइतबार सादाबाद पुलिसले आफ्नो कार्यालयमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ।
सादाबाद क्षेत्रकी पीडित महिलाले दिएको उजुरीअनुसार, सन् २०२३ मा क्यान्सरका कारण उनका श्रीमानको मृत्यु भएको थियो। श्रीमानको निधन भएको केही महिनापछि उनका ११ वर्षीय छोरा गम्भीर बिरामी परेका थिए। यही क्रममा सादाबाद बस स्ट्यान्डमा बलदेव थाना क्षेत्रको पटलोनी गाउँ निवासी अंशु गौतमसँग उनको भेट भएको थियो।
उजुरीअनुसार युवकले सहानुभूति देखाउँदै मोबाइल नम्बर लिएर नियमित सम्पर्क गर्न थालेका थिए। उनले महिला र उनका छोराको सहारा बन्ने तथा विवाह गर्ने आश्वासन दिएका थिए, त्यसपछि उनको घरमा आउजाउ शुरु भएको थियो।
महिलाको आरोपअनुसार, अंशु गौतमले विवाह गर्ने प्रलोभन देखाएर पटक-पटक बलात्कार गरे। यस क्रममा उनी गर्भवती भएपछि औषधि खुवाएर गर्भपतन गराइएको आरोप पनि लगाइएको छ।
पीडितका अनुसार, आरोपीले विभिन्न बहानामा उनको ब्याङ्क खाताबाट २ लाख रुपियाँ निकाल्न लगाएका थिए। साथै, ८० हजार रुपियाँ ऋण पनि लिन लगाएका थिए। उनका दुईवटा सुनका औंठी र चाँदीका गहनासमेत आरोपीले लिएर गएका थिए। यसरी आरोपीले कुल २ लाख ८० हजार रुपियाँ तथा गरगहना हडपेको महिलाको दाबी छ।
जब पीडितले विवाह गर्न वा आफ्नो रकम तथा गरगहना फिर्ता गर्न आग्रह गरिन्, आरोपीले विवाह गर्न अस्वीकार गर्दै उनका ११ वर्षीय छोराको हत्या गर्ने धम्की दिएको उजुरीमा उल्लेख छ।
महिलाले यस विषयमा मथुराका वरिष्ठ पुलिस अधीक्षकसमक्ष उजुरी दिएपछि जून २८ मा बलदेव पुलिस थानामा मुद्दा दर्ता भएको थियो। अनुसन्धानका क्रममा घटनास्थल सादाबाद क्षेत्रभित्र रहेको पुष्टि भएपछि मुद्दा सादाबाद पुलिसमा स्थानान्तरण गरिएको हो।
सादाबादका पुलिस निरीक्षक विजय सिंहले घटनाको विस्तृत अनुसन्धान भइरहेको र प्राप्त तथ्यका आधारमा आवश्यक कानुनी कारबाही अघि बढाइने बताएका छन्।