सिक्किममा पहिलो अंग प्रत्यारोपण केन्द्र र पोस्ट-ट्रान्सप्लान्ट आईसीयूको आज उद्घाटन
अंग प्रत्यारोपण केन्द्रको उदघाटन आज


गान्तोक, 15 अगस्त (हि.स.)। सिक्किम सरकारले राज्यमा विशेषज्ञ तथा जीवनरक्षक स्वास्थ्य सेवाको विस्तारतर्फ महत्वपूर्ण कदम चाल्दै राजधानीको सोच्यागाङस्थित एसटीएनएम अस्पतालमा राज्यकै पहिलो अंग प्रत्यारोपण केन्द्र तथा पोस्ट-ट्रान्सप्लान्ट आईसीयू स्थापना गरेको छ। स्वास्थ्य तथा परिवार कल्याण विभाग, सिक्किम सरकारको पहलमा स्थापना गरिएको यो केन्द्र राज्यको स्वास्थ्य पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

यस केन्द्रको उद्घाटन १५ अगस्तमा राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङको उपस्थितिमा गर्ने कार्यक्रम रहेको छ। नयाँ अंग प्रत्यारोपण केन्द्रको स्थापनाले सिक्किममा जटिल तथा जीवनरक्षक उपचार सेवाको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।

विशेषगरी अंग प्रत्यारोपण आवश्यक पर्ने बिरामीहरूलाई उपचारका लागि अन्य राज्यमा जानुपर्ने बाध्यता कम गर्न यस केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ। यस केन्द्रसँगै स्थापना गरिएको पोस्ट-ट्रान्सप्लान्ट आईसीयूले अंग प्रत्यारोपणपछि बिरामीको विशेष निगरानी, उपचार तथा सघन हेरचाहका लागि आवश्यक सुविधा उपलब्ध गराउने उद्देश्य राखेको छ। प्रत्यारोपणपछि बिरामीको स्वास्थ्य अवस्था संवेदनशील हुने भएकाले यस्तो विशेषीकृत आईसीयूको स्थापना राज्यको स्वास्थ्य प्रणालीका लागि महत्वपूर्ण पूर्वाधार मानिएको छ।

सिक्किममा पछिल्ला वर्षहरूमा स्वास्थ्य क्षेत्रमा सुपर-स्पेसियालिटी तथा तृतीयक स्वास्थ्य सेवाको विस्तार हुँदै आएको छ। यसै क्रममा अंग प्रत्यारोपण सेवा थपिनुले राज्यमा उन्नत चिकित्सा सेवाको दायरा अझ फराकिलो बनाउने छ। राज्यकै पहिलो अंग प्रत्यारोपण केन्द्र र पोस्ट-ट्रान्सप्लान्ट आईसीयूको स्थापना सिक्किमलाई अत्याधुनिक तथा आत्मनिर्भर स्वास्थ्य सेवातर्फ अघि बढाउने महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande