भारतको विविधता नै देशको सबैभन्दा ठूलो शक्ति: पवन चामलिङ
Pawan chamling


गान्तोक, 15 अगस्त (हि.स.)। सिक्किमका पूर्व मुख्यमन्त्री तथा सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीका अध्यक्ष पवन चामलिङले ८०औँ स्वतन्त्रता दिवसको अवसरमा देशवासी तथा सिक्किमवासीलाई शुभकामना दिँदै स्वतन्त्रताको वास्तविक अर्थ गरिबी, असमानता, असुरक्षा र विभेदबाट मुक्ति बताएका छन्।

उनले शनिबार बिहान जारी आफ्नो सन्देशमा स्वतन्त्रता सेनानी, राष्ट्र निर्माणमा योगदान दिने नेतृत्व तथा सीमा रक्षा गर्ने वीर सैनिकहरूप्रति श्रद्धा व्यक्त गर्दै भारतको विविधता नै देशको सबैभन्दा ठूलो शक्ति भएको बताए। संविधानले परिकल्पना गरेको स्वतन्त्रता, समानता, बन्धुत्व र न्यायका आदर्श अझ पूर्ण रूपमा कार्यान्वयन गर्न बाँकी रहेको उनको भनाइ छ।

चाम्लिङले केन्द्र र राज्यबीच पारस्परिक सम्मान, समानता र सहकार्यमा आधारित संघीय प्रणाली बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। १९७५ मा सिक्किम भारतको २२औँ राज्य बनेपछि संविधानमा समावेश गरिएको अनुच्छेद ३७१एफले राज्यको विशिष्ट पहिचान, अधिकार र संवैधानिक अवस्थाको संरक्षण गरेको उल्लेख गर्दै उनले यसको संरक्षणप्रति सिक्किमवासीलाई प्रतिबद्ध रहन आह्वान गरे।

२५ वर्ष मुख्यमन्त्रीका रूपमा आफूले सेवा गरेको स्मरण गर्दै उनले सिक्किमलाई विश्वकै पहिलो पूर्ण जैविक राज्य बनाउनु, गरिबी उल्लेखनीय रूपमा घटाउनु, २००८ मा निर्मल राज्यको पहिचान हासिल गर्नु तथा शान्ति र कानुनी व्यवस्था कायम राख्नु प्रमुख उपलब्धि रहेको उल्लेख गरेका छन्।

युवाका अवसर, महिला सहभागिता, जलवायु परिवर्तन तथा हिमाली पारिस्थितिक प्रणालीको संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले २०२३ को जीएलओएफले सिक्किमको संवेदनशील हिमाली वातावरणबारे ध्यान आकर्षित गराएका छन्।

उनले स्वतन्त्र प्रेस, अभिव्यक्ति स्वतन्त्रता र संस्थागत जवाफदेहिता स्वस्थ लोकतन्त्रका आधार भएको उल्लेख गर्दै सामाजिक न्यायपूर्ण, लोकतान्त्रिक, समावेशी र समृद्ध राष्ट्रका रूपमा विकास गर्न सामूहिक प्रयासको आह्वान गरे।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande