
गान्तोक, 15 अगस्त (हि.स.)। सिटिजन एक्सन पार्टी सिक्किमका अध्यक्ष गणेश के. राईले भारतको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा सिक्किमवासी तथा सम्पूर्ण देशवासीलाई शुभकामना व्यक्त गर्दै स्वतन्त्रताको अर्थलाई सम्मान, अवसर, न्याय, लोकतान्त्रिक सहभागिता र जिम्मेवार नागरिकतासँग जोड्नुपर्ने बताएका छन्।
उनले शनिबार बिहान जारी आफ्नो सन्देशमा स्वतन्त्रता दिवस केवल स्वतन्त्रता सङ्घर्षको स्मरण गर्ने दिन नभई भावी पुस्ताका लागि कस्तो समाज र राष्ट्र निर्माण गर्ने भन्ने विषयमा चिन्तन गर्ने अवसर रहेको बताएका छन्। सिक्किमको प्राकृतिक सम्पदा, समृद्ध सांस्कृतिक विरासत र युवाशक्तिलाई राज्यको महत्वपूर्ण सम्पत्तिका रूपमा उल्लेख गर्दै राईले युवालाई केवल सरकारी योजनाका लाभग्राही वा निर्वाचनको जनसांख्यिक समूहका रूपमा नभई राष्ट्र निर्माणका साझेदार तथा सिक्किमको भविष्यका निर्माताका रूपमा हेर्नुपर्ने बताए।
युवाका लागि गुणस्तरीय शिक्षा, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन, प्रविधि, खेलकुद तथा सम्मानजनक जीविकोपार्जनका अवसर सिर्जना गर्नुपर्नेमा उनले जोड दिए। अवसरको अभावमा युवाले राज्य छाड्नुपर्ने अवस्था अन्त्य गर्दै शिक्षा, सीप र रोजगारीबीच बलियो सम्बन्ध विकास गर्नुपर्ने उनको भनाइ छ।
विकाससँगै सिक्किमको हिमाली पर्यावरण र सांस्कृतिक सम्पदाको संरक्षणलाई पनि प्राथमिकता दिनुपर्ने राईले बताए। युवामा वैज्ञानिक सोच, सिर्जनशीलता, नागरिक जिम्मेवारी, उद्यमशीलता र नेतृत्व विकास गर्ने वातावरण आवश्यक रहेको उनले उल्लेख गरे।
“युवा भविष्य मात्र होइनन्, वर्तमान पनि हुन्” भन्दै राईले हरेक युवाले आफ्नै भूमिमा सपना देख्न, शिक्षा हासिल गर्न, योगदान गर्न र सम्मानपूर्वक जीवन निर्माण गर्न सक्ने सिक्किम बनाउन सामूहिक प्रयासको आह्वान गरे।
उनले समावेशी, सुदृढ़ र लोकतान्त्रिक भारतको प्रगतिमा सिक्किमले निरन्तर योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल