
गान्तोक, 18 अगस्त (हि.स.)। सिक्किमको याङगाङ निवासी तथा हाल अरुणाचल प्रदेशमा तैनाथ असम राइफल्सका मेजर विकास राईलाई वीरतापूर्ण कार्यका लागि प्रतिष्ठित ‘सेना मेडल' (ग्यालेन्ट्री) प्रदान गरिएको छ। स्वतन्त्रता दिवस २०२६ को अवसरमा उनको साहस, उत्कृष्ट नेतृत्व र कर्तव्यप्रतिको समर्पणको सम्मान गर्दै उक्त पदक प्रदान गरिएको हो।
आतङ्कवादीहरूको गतिविधि सम्बन्धी विश्वसनीय सूचना प्राप्त भएपछि मेजर राईले तत्काल सानो टोलीको नेतृत्व गर्दै उनीहरूलाई रोक्न कारबाही अघि बढाएका थिए। कारबाहीका क्रममा उनले असाधारण साहस तथा रणनीतिक दक्षता प्रदर्शन गर्दै एक आतङ्कवादीलाई निष्क्रिय पारेका थिए। त्यसपछि अर्का एक आतङ्कवादीलाई हतियार तथा गोलीगठ्ठासहित पक्राउ गर्न पनि उनी सफल भएका थिए।
यस वीरतापूर्ण कारबाही र कर्तव्यप्रतिको अटल समर्पणको कदरस्वरूप मेजर विकास राईलाई सेना मेडल (ग्यालेन्ट्री) प्रदान गरिएको हो। यसअघि पनि मेजर राईलाई गणतन्त्र दिवस २०२६ को अवसरमा चीफ अफ आर्मी स्टाफ कमेन्डेसन कार्ड प्रदान गरिएको थियो।
मेजर विकास राईको यो उपलब्धिले याङगाङ क्षेत्रसँगै समग्र सिक्किम र राष्ट्रलाई गौरवान्वित बनाएको छ। उनको वीरता, व्यावसायिक दक्षता, नेतृत्व क्षमता र राष्ट्रसेवाप्रतिको समर्पणले युवा पुस्तालाई समेत प्रेरणा प्रदान गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल