
गान्तोक, 18 अगस्त (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले प्रस्तावित एकीकृत अनलाइन परमिट प्रणालीले सिक्किमका पर्यटन सरोकारवालाको हित, जीविकोपार्जन तथा कल्याणमा प्रतिकूल असर नपर्ने मुख्यमन्त्री प्रेमसिंह तामाङले दिएको आश्वासनलाई ध्यानमा लिएको जनाएको छ।
भाजपा सिक्किमले सरकारले आफ्नो प्रतिबद्धता कायम राख्दै प्रस्तावित प्रणालीको स्वामित्व र नियन्त्रण सिक्किम सरकारमै रहने सुनिश्चित गरेमा तथा प्रस्तावित परमिट शुल्कमा कमी ल्याएमा उक्त पहललाई पार्टीले स्वागत गर्ने आज जारी एक प्रेस विज्ञप्तिमा जनाएको छ।
भाजपाले भनेको छ, भाजपा प्रविधि वा डिजिटल शासनको विरोधमा छैन। पार्टीले दक्षता र पारदर्शिता सुधार गर्ने सुधारात्मक कदमको समर्थन गर्दछ। तर यस्ता सुधारका नाममा सिक्किमका जनतामाथि अनावश्यक आर्थिक भार पर्नु हुँदैन।
पर्यटन क्षेत्रका सरोकारवालासँग सरकारले परामर्श गरी उनीहरूका चिन्ता सम्बोधन गर्ने पहलले भाजपा सिक्किमले यसअघि उठाउँदै आएका विषयको औचित्य पुष्टि गरेको पार्टीले जनाएको छ। साथै, यस्तो विषयमा निरन्तर सार्वजनिक निगरानी आवश्यक रहेको पनि भाजपाले बताएको छ।
भाजपा सिक्किमले मुख्यमन्त्रीबाट दिइएका आश्वासनहरू अन्तिम प्रणालीको ढाँचामा स्पष्ट रूपमा प्रतिबिम्बित हुनुपर्नेमा जोड दिएको छ। विशेषगरी राज्यको स्वामित्व, पारदर्शिता, शुल्कको वहनीयता तथा सिक्किमका पर्यटन सरोकारवालाको हित सुनिश्चित हुनुपर्ने पार्टीको माग रहेको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल