
गान्तोक, 20 अगस्त (हि.स.)। सिक्किम विश्वविद्यालयले याङगाङ क्याम्पसको प्रशासनिक भवनमा आज भव्यताका साथ ३५औँ नेपाली भाषा मान्यता दिवस पालन गऱ्यो। नेपाली विभागले आयोजना गरेको कार्यक्रममा सिक्किम विश्वविद्यालयका कुलसचिव केशरी दास सभा अध्यक्षका रूपमा उपस्थित रहेका थिए भने प्रमुख अतिथिका रूपमा सिक्किम रूपान्तरण संस्थाका उपाध्यक्ष तथा लोकवार्ताविद् चन्द्रप्रकाश भट्टराई उपस्थित रहेका थिए।
कार्यक्रममा प्रमुख वार्ताकारका रूपमा प्रख्यात कवि, साहित्यकार सुवास सोताङ उपस्थित थिए भने विशिष्ठ अतिथिका रूपमा सिक्किम विश्वविद्यालयका परिक्षा नियन्त्रक प्रो. लक्ष्मण शर्मा, याङगाङ क्याम्पसका निर्देशक प्रो. दुर्गा पी. छेत्री, उप कुल सचिव ग्रेस डि चाङकापा अनि विभिन्न विभागका विभाग अध्यक्षहरू उपस्थित रहेका थिए। यसका साथै गैर-शिक्षण कर्मचारीगण र सिक्किम विश्वविद्यालयका विभिन्न विभागका शोधार्थी, विद्यार्थीको व्यापक रूपमा उपस्थिति रहेको थियो।
आजको कार्यक्रममा स्वागत सम्बोधन नेपाली विभाग अध्यक्ष प्रो. कविता लामाले राखेकी थिइन्। उनले अथितिहरूलाई स्वागत जनाउँदै नोपाली भाषाको प्रयोगमा वृद्धि गर्नु पर्ने, प्रविधिमैत्री बनाउनु पर्ने, घरमा बालबच्चाहरूलाई बोल्न सिकाउनु पर्ने कुरमा जोड दिँदै विभिन्न विषयका किताबहरू नोपाली भाषामा अनुवाद गरिनु पर्ने र लेखिनु पर्ने वर्तमान आवश्यकता रहेको बताइन्।
यस कार्यक्रममा प्रमुख वार्ताकारका रूपमा उपस्थित रहेका साहित्यकार सुवास सोताङले आफ्नो वार्ता राख्ने क्रममा नेपाली भाषा मान्यता आन्दोलनकालको सङ्घर्ष विषयमा विस्तृत रूपमा कुरा राखे। उनले भाषा आन्दलोन कालको सङ्घर्षको सम्झना गर्दै रतनलाल ब्राह्मणले संसदमा नेपाली भाषामा पहिलोपल्ट वक्तव्य राखेको ऐतिहासिक क्षणको सम्झना गर्दै ७० जना सांसदहरूको नोपाली भाषाको पक्षमा हस्ताक्षर उठाएको प्रसङ्ग पनि साझा गरे। उनले आफ्नो वार्तामा नोपाली भाषाको अवस्था, स्थिति र सम्भावना बारे गहन कुरा राखेका थिए।
वार्ताकार सोताङले २० अगस्त, १९९२ मा भाषाले मान्यता पाएपछि दार्जिलिङले भाषा मान्यताको उत्सव खुलेर मनाउन नसकेको स्थिति र चुपचाप बस्नु परेको राजनीतिक अवस्थाबारे पनि कुरा राखेका थिए। उनले नेपाली भाषा प्रयोग र यसप्रति नयाँ पिँढी टाढिँदै गएको स्थिति चिन्ताजनक रहेको बताउँदै नेपाली भाषाको प्रयोग समाजले छोड्दै गएको र जिविकोपार्जन नेपाली भाषाको माध्यमबाट नभए यो बिस्तारै हराएर जानसक्ने सम्भावना रहेको बताए।
यसरी नै प्रमुख अतिथिका रूपमा लोकवार्ताविद् चन्द्रप्रकाश भट्टराईले, २० अगस्तलाई सबै नेपाली भाषीले स्मरण गर्नु पर्ने दिन रहेको बताए। भारतीय नेपालीहरूको सङ्घर्षको स्मरण गर्दै नेपाली भाषाको महत्त्व र यसले जातिलाई दिइएको संरक्षण महत्वपूर्ण रहेको जानकारी गराए। साहित्यिक कृतिले व्यक्तिलाई बचाउने र भाषालाई पनि बचाउने कुरा गर्दै उनले सबैले साहित्य सिर्जना गर्नु पर्ने कुरा राखेका थिए।
उनले पनि भाषालाई प्रवृधिमैत्री बनाउनु पर्ने र यसमाथि विश्वविद्यालयसँग मिलेर काम गर्नु परे सरकारको तर्फबाट र भट्टराई स्वयंका तर्फबाट सहयोग गर्ने बताए। उनले लोक साहित्य र उनको लेखन रूचीप्रति कुरा गर्दै लोक साहित्य उनको रूचीको विषय रहेको बताए। उनले लोकसाहित्यका पुस्तकहरू आफ्ना पुराना जातीय कुरा, पिता पुर्खाका विरासत विलुप्त नहोस् भन्ने ध्येयका साथ लेख्ने र सङ्कलन गर्ने गरेको पनि बताए। भट्टराईले नेपाली भाषामा विद्यार्थीहरूले विभिन्न सरकारी परिक्षाहरूका लागि तयारी गर्नु पर्ने कुरा गर्दै नेपाली भाषामा सरकारी परिक्षाका पुस्तकहरू सिक्किम सरकारले उपलब्ध गराउने पनि बताए।
आजका कार्यक्रमका अध्यक्ष विश्वविद्यालयका कुलसचिव प्रतापकेशरी दासले मुख्य अतिथिको सम्बोधन नेपाली भाषामा राख्दै उनले सिक्किम विश्वविद्यालयका कुलपतिले नेपाली भाषा मान्यता दिवसका लागि पठाएको सन्देश पाठ गरी सुनाए। उनले आफ्नो सम्बोधन आफू अनेपाली भए तापनि नेपाली भाषामा राखेका थिए भने नोपाली भाषामा लिखित एउटा कविता पनि पाठ गरेर सुनाएका थिए।
आजको कार्यक्रमको मुख्य आकर्षण कवि सम्मेलन पनि रहेको थियो भने चारजना अतिथि कविहरूले आफ्ना स्वरचित कविताहरू सुनाएका थिए। यस कवि सम्मेलनमा कवि विनोद प्रधानले ‘मामुली कवि’, ‘मामुली सहरको कविता’, शीर्षकका दुई कविता सुनाएका थिए भने सरोजिनी सुब्बाले पाँचवटा कविता सुनाएकी थिन्। यसरी नै सिमियोन सुकिता राईले ‘डार्क साइड’ अनि ‘डेविल’ दुई कविता सुनाएका थिए भने योगिता राईले पनि दुई कविता सुनाएकी थिइन्।
आजको कार्यक्रममा कवि सम्मेलन सँगै नोपाली विभागले मारूनी नेपाली नृत्य, लेप्चा विभागले लेप्चा अनि लिम्बू विभागले लिम्बू नृत्य प्रस्तुत गरिएको थियो। यससँगै अतिथि प्राध्यापक डा सुरज गुरूङद्वारा लिखित एउटा सुन्दर नाटक पनि प्रस्तुत गरिएको थियो भने गैर-शिक्षण कर्मचारीहरूले गोपाल योञ्जनको ‘मेरो टोपी’ गीत पनि प्रस्तुत गरिएका थिए। कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन विभागका प्राध्यापक डा देवचन्द्र सुब्बाले राखेका थिए भने कार्यक्रमको सञ्चालन शोधार्थी गायत्री थापा र मेनप्रसाद शर्माले गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल