कवि केवलचन्द्र लामालाई छेटौँ लैनसिंह बाङ्देल स्मृति पुरस्कार
केवल चन्द्र लामा सम्मानित


गान्तोक, 24 अगस्त (हि.स.)। लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान, कलकत्ता अनि भारतीय भाषा परिषद् कलकत्ताको संयुक्त आयोजनामा आइतबारको दिन नेपाली भाषा मान्यता दिवस भव्यरूपमा पालन गरियो। देविका मोक्तानको सभापतित्वमा सम्पन्न सभामा प्रमुख अतिथि आशिष झुनझुनवाला, भारतीय भाषा परिषद् कलकत्ताका कार्यकारी सदस्य थिए।

यसैगरी, विशिष्ट अतिथिका रुपमा घणश्याम सुगला, वित्त सचिव भारतीय भाषा परिषद् कलकत्ता, डा दिवाकर प्रधान, भारतीय भाषा प्रमुख काशी हिन्दु विश्वविद्यालय, केवलचन्द्र लामा, वरिष्ठ कवि, दार्जिलिङ, अन्तरराष्ट्रिय धाविका रोशनी राई, कालेबुङ, पुष्पधर शर्मा, वरिष्ठ साहित्यकार, असम, साहित्यकार नारायण प्रसाद होमागाई, कथाकार समशेर अली, सदिनामा हिन्दी पत्रिकाका सम्पादक जितेन्द्र जितांसु, समाजसेवी भीम श्रेष्ठ रहेका थिए। डा दिवाकर प्रधानले भारतीय नेपाली भाषा अनि हिन्दी भाषाको अन्तर सम्बन्ध बिषयमा कार्य पत्र प्रस्तुत गरे। कार्यक्रममा कवि केवलचन्द्र लामालाई छेटौँ लैनसिंह बाङ्देल स्मृति पुरस्कारले पुरस्कृत गरियो। उनलाई प्रतिष्ठानको तर्फबाट पुष्पहार, शीर शोभा, अङ्ग वस्त्र, स्मृति चिनो र सम्मान पत्र प्रदान गरियो।

यसरी नै वरिष्ठ साहित्यकार डा दिवाकर प्रधानलाई प्रभात साहित्य सम्मान, अन्तरराष्ट्रिय धाविका रोशनी राईलाई वीर खड़्गबहादुर सिंह विष्ट स्मृति सम्मान र साहित्यकार, भाषा सङ्ग्रामी पुष्पधर शर्मालाई मातृभाषा सेवाश्री सम्मान अनि आईएससी परिक्षामा भारतमा तेस्रो नम्बरमा आउने दार्जिलिङ निवासी यमिक सरस्वती प्रतिभा शिक्षा सम्मानले सम्मानित गरियो।

कार्यक्रममा चारवटा पुस्तहरू क्रमशः प्रभातको कौस्तुभ विशेषाङ्क, कवि केवलचन्द्र लामाको केवालय, निमा मोक्तान निष्कर्षको मास महिमा र प्रयास तामाङको आमा र खुकुरीको विधिवत विमोचन गरियो।

कार्यक्रममा यादवपुर विश्वविद्यालयका विद्यार्थीहरूले आदित्य सुब्बा, युवराज सुब्बा गीत अनि लेडी ब्राबन कलेजका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरे। कार्यक्रममा नेपाली हिन्दी र बंगला भाषाका कविहरूले कविता वाचन गरेका थिए।

प्रतिष्ठानले कलालाई प्रोत्साहित गर्न, चित्रकला प्रतियोगिता राखेको थियो, जसमा विभिन्न उच्च विद्यालयका सौ भन्दा धेरै विद्यार्थीहरूले अङ्शग्रहण गरेका थिए। जसमा नेपाली कन्या उच्च माध्यमिक विद्यालय, दार्जिलिङकी अञ्जली थामी प्रथम, सन्त जोसेफ हाईस्कूल, मतिगढा, दार्जिलिङकी आहाना सिंह, दोस्रो, नेपाली कल्याण उच्च विद्यालय, दार्जिलिङकी यासा परियार, तेस्रो र नेपाली कन्या उमाविकी दावा साङ्मु शेर्पाले चौथो स्थान हासिल गरिन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande