
गान्तोक, 24 अगस्त (हि.स.)। पटना उच्च न्यायालयकी सेवानिवृत्त मुख्य न्यायाधीश न्यायमूर्ति मीनाक्षी मदन राई सिक्किम राज्य मानव अधिकार आयोगको अध्यक्ष पदमा नियुक्त गरिएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले न्यायमूर्ति राईको नियुक्तिमा खुशी प्रकट गर्दै उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा उनको नियुक्तिलाई एसकेएम सरकारअन्तर्गत महिला सशक्तीकरणको महत्वपूर्ण उदाहरणका रूपमा उल्लेख गरेका छन्। महिलाहरूलाई जिम्मेवारीपूर्ण पदमा नेतृत्व गर्ने, सेवा गर्ने तथा राज्यको विकासमा अर्थपूर्ण योगदान पुर्याउने समान अवसर प्रदान गर्न सरकार प्रतिबद्ध रहेको उनले बताएका छन्।
सरकारले शासन तथा प्रशासन, शिक्षा, उद्यमशीलता, सार्वजनिक सेवा तथा नेतृत्वलगायतका क्षेत्रमा महिलाहरूले आफ्नो पूर्ण क्षमता प्रदर्शन गर्न सक्ने अनुकूल वातावरण निर्माण गर्दै आएको उनले बताएका छन्। महिलाहरूलाई सिक्किमको प्रगतिमा समान साझेदारका रूपमा अघि बढाउने सरकारको प्रतिबद्धता रहेको पनि उनले उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले न्यायमूर्ति राईको लामो अनुभव, ज्ञान र समर्पणले राज्यमा मानव अधिकारको संरक्षण तथा प्रवर्द्धनलाई थप सुदृढ़ बनाउने विश्वास व्यक्त गरेका छन्। साथै, उनको कार्यकाल सफल, प्रभावकारी तथा उपलब्धिमूलक रहोस् भन्ने शुभकामना पनि दिएका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल