
नाम्ची, 24 अगस्त (हि.स.)। मुख्यमन्त्रीका विशेष कर्तव्य अधिकारी (ओएसडी) रिवाज छेत्रीको अध्यक्षतामा सोमवार नाम्ची जिल्लाको तिमीमा एसएचजी भरोसा सम्मेलनका योजना र कार्यान्वयनमाथि छलफल गर्न समन्वय बैठक डाकिएको छ। बैठकमा 11 जना अध्यक्ष र एकजना ओएसडीको पनि उपस्थिति रहेको थियो।
बैठकमा सम्मेलनको निरीक्षण गर्न समिति गठन गरियो भने अनुदानका लागि 200 योग्य स्वयं सहायता समूह (एसएचजी) को पहिचान गर्न स्पष्ट छनोट दिशानिर्देशहरू विकास गर्ने र छनोट प्रक्रिया निष्पक्ष, पारदर्शी र एसएचजीहरूको वास्तविक आवश्यकताहरूमा आधारित रहेको सुनिश्चित गर्ने विषयमा केन्द्रित थियो। यस अवसरमा अनुदान कार्यान्वयन गर्ने संयन्त्र र सम्बन्धित विभाग, अध्यक्ष र क्षेत्रस्तरका पदाधिकारीबीच समन्वय सुदृढ़ गर्ने विषयमाथि छलफल गरियो।
मुख्यमन्त्री पीएस गोलेले ग्रामीण सिक्किमको सामाजिक आर्थिक विकासमा स्वयं सहायता समूहहरूको योगदानको सम्मान गर्न र ऐतिहासिक अवसरको रूपमा एसएचजी भरोसा सम्मेलनको परिकल्पना गरेका थिए। यो राज्यमा छुट्टै प्रकारको एक उत्सव हुनेछ, जसले आफ्नो परिवार, समुदाय र ग्रामीण अर्थतन्त्रमा अतुलनीय योगदान पुर्याएका हजारौँ ग्रामीण महिलाको शक्ति र भावनालाई एकसाथ ल्याउँछ।
आज, 65,000 भन्दा बढ़ी ग्रामीण महिला सिक्किममा एसएचजी आन्दोलनको हिस्सा हुन्। उनीहरूको यात्राले महिला सशक्तिकरण मात्र नभएर ग्रामीण क्षेत्रमा उद्यमशीलता, आत्मनिर्भरता र समुदायको नेतृत्वमा विकासको बढ्दो भावनालाई पनि प्रतिनिधित्व गर्दछ।
यो पहलले मुख्यमन्त्रीको ‘ग्रामीणस्तरदेखि शासन प्रणालीसम्म’-को दृष्टिकोणलाई पनि प्रतिबिम्बित गर्दछ। अर्को चरणको रूपमा, जिल्लागत समन्वय बैठकहरू 1 सेप्टेम्बरदेखि बीडीएस र डब्ल्यूडीएस/सङ्घका प्रतिनिधि साथै एसआरएलएम बीएमएमयू टोलीहरूसँग शुरु हुनेछ। यी परामर्शहरूले तृणमूल तहमा व्यापक सहभागिता सुनिश्चित गर्नेछन् र 200 एसएचजीहरूको छनोटलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन सहयोग गर्नेछन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल