
तूतीकोरिन (तमिलनाडु), २७ अगस्त (हि.स.)। दक्षिण भारतमा आज वैदिक परम्पराअनुसार मनाइने आवणी अविट्टम पर्व धूमधामका साथ मनाइँदैछ। यो पर्व सामान्यतया हिन्दू पात्रोअनुसार श्रावण पूर्णिमाका दिन मनाइन्छ। तमिल पात्रोअनुसार भने यो ‘आवणी’ महिनाको ‘अविट्टम’ (धनिष्ठा) नक्षत्रमा पर्ने भएकाले यसलाई आवणी अविट्टम भनिन्छ।
यस अवसरमा पुरुषहरूले पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने धार्मिक विधि सम्पन्न गर्छन्। अनुष्ठानका क्रममा वैदिक मन्त्रहरूको उच्चारण गरिन्छ तथा ऋषिहरू र पुर्खाहरूप्रति कृतज्ञता व्यक्त गर्दै विशेष पूजा-आराधना गरिन्छ। आवणी अविट्टमलाई वेदहरूको जन्मदिवस का रूपमा पनि मानिन्छ।
धार्मिक मान्यताअनुसार यही दिन भगवान विष्णुले हयग्रीव अवतार धारण गरी असुरहरूबाट वेदहरू पुनः प्राप्त गरेर पवित्र बनाएका थिए। त्यसैले यो दिन हयग्रीव जयन्तीका रूपमा पनि मनाइन्छ। साथै, विगतमा भएका त्रुटिहरूप्रति प्रायश्चित गर्दै भविष्यमा वेद अध्ययन तथा आध्यात्मिक साधनालाई नियमित रूपमा निरन्तरता दिने सङ्कल्प गर्ने दिनका रूपमा पनि यस पर्वलाई लिइन्छ।
आवणी अविट्टमको अवसरमा तूतीकोरिनस्थित तेप्पाकुलम नजिकको भजन मण्डपमा बिहानैदेखि ठूलो सङ्ख्यामा पुरुषहरूले जनै परिवर्तन गर्ने अनुष्ठान सम्पन्न गरे। यस क्रममा श्रद्धालुहरूले कट्टी खेल प्रदर्शन गरे भने कोलाट्टम नृत्य मार्फत उत्सव मनाए।
त्यसैगरी कुमारपालयम क्षेत्रमा आवणी अविट्टम तथा जनै पर्वको अवसरमा सेलम रोडस्थित राजवीथीको साउन्डम्मन मन्दिर, पालक्करै, बुद्धर स्ट्रीट, कत्तालपेट्टई तथा सदैयाम्पालयम साउन्डम्मन मन्दिरलगायत विभिन्न स्थानमा विशेष यज्ञ तथा पूजा-आराधना सम्पन्न गरियो।
सेलम रोडस्थित साउन्डम्मन मन्दिरमा १०० भन्दा बढी वीरकुमारहरूले कट्टी खेल प्रदर्शन गरे भने साना बालिकाहरूले कोलाट्टम नृत्य प्रस्तुत गरी उत्सवलाई थप आकर्षक बनाए। कार्यक्रममा सहभागी भक्तजनहरूलाई प्रसाद तथा अन्नदान पनि वितरण गरिएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी