
काठमाडौं, ३० अगस्त (हि.स.)। चीनको तिब्बत स्वायत्त क्षेत्रमा आएको भीषण बाढीका कारण केरुङमा ५४६ जना बेपत्ता भएका छन्। चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार, बेपत्ता हुनेमा २३ देशका २६१ जना विदेशी नागरिक रहेका छन्। बेपत्ता विदेशी नागरिकमध्ये नेपाली नागरिकको संख्या सबैभन्दा बढी रहेको छ। चिनियाँ अधिकारीहरूका अनुसार, १०४ जना नेपाली नागरिक र ४९ जना भारतीय नागरिक अझै बेपत्ता छन्।
सीसीटीभीका अनुसार, बेपत्ता विदेशी नागरिकको विवरण
नेपाल: १०४ जना
भारत: ४९ जना
लातभिया: ३३ जना
अमेरिका: १८ जना
बेलायत: १५ जना
क्यानडा र अस्ट्रेलिया: ६-६ जना
दक्षिण अफ्रिका: ४ जना
मलेसिया, जर्मनी र रुस: ३-३ जना
फ्रान्स, न्युजिल्यान्ड, इस्टोनिया र आयरल्यान्ड: २-२ जना
फिनल्यान्ड, नेदरल्यान्ड्स, लिथुआनिया, पोर्चुगल, युक्रेन, स्पेन र हंगेरी: १-१ जना
चीनका अधिकारीहरूले बेपत्ता नागरिकहरूका सम्बन्धमा सम्बन्धित देशका दूतावास तथा कन्सुलर सेवाहरूलाई औपचारिक रूपमा जानकारी गराइसकेका छन्।
सरकारी प्रसारकका अनुसार, विदेश मन्त्रालय, सार्वजनिक सुरक्षा, संस्कृति तथा पर्यटन र आपत्कालीन व्यवस्थापनलगायत विभिन्न निकायबीचको संयुक्त अनुसन्धान तथा समन्वयपछि बेपत्ता विदेशी नागरिकसम्बन्धी यो विवरण तयार पारिएको हो।
हिन्दुस्थान समाचार / बिशाल