
दरामदिन, ३१ अगस्त (हि.स.)। ‘झोपडीमुक्त सिक्किम’ निर्माण गर्ने राज्य सरकारको प्रतिबद्धताअनुरूप दरामदिन निर्वाचन क्षेत्रका विभिन्न जीपीयूमा सिक्किम गरीब आवास योजना (एसजीएवाई) अन्तर्गत निर्माण सम्पन्न घरहरू लाभार्थीहरूलाई हस्तान्तरण गरिएका छन्। आर्थिक रूपमा कमजोर परिवारलाई सुरक्षित, स्थायी तथा सम्मानजनक आवास उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको यो पहल विधायक तथा सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पाको मार्गदर्शन र सहयोगमा सम्पन्न भएको बताइएको छ।
एसजीएवाईअन्तर्गत लाभार्थीहरूलाई नवनिर्मित घर मात्र नभई आरामदायी जीवनयापनका लागि आवश्यक फ्ल्याट-स्क्रिन टेलिभिजन, टेबल, दराज, सोफा तथा अन्य आधारभूत आवश्यक सामग्रीहरू पनि उपलब्ध गराइएको बीडीओ दरामदिनले जनाएको छ।
लुङचोक-सालाङदाङका 6, रुम्बुकका 2 र अप्पर थाम्बोङका 7 गरी जम्मा 15 जना लाभार्थीलाई नवनिर्मित घर हस्तान्तरण गरिएको छ। लाभार्थीहरूले स्थायी घरको सपना साकार पारिदिएकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङ तथा क्षेत्र विधायक शेर्पाप्रति आभार व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल