ट्रम्पको दाबी : अमेरिका विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक देश बन्यो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप  (फाइल फाेटाे)


वासिङ्टन, १० सेप्टेम्बर (हि.स.)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका अहिले विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक देश बनेको दाबी गरेका छन्। टेक्सासको डलासमा आयोजित एक सभालाई सम्बोधन गर्दै ट्रम्पले यस उपलब्धिमा भेनेजुएलाको विशाल तेल भण्डारलाई समावेश नगरिएको बताएका छन्।

टर्कीको सरकारी समाचार संस्था अनाडोलुका अनुसार, ट्रम्पले भेनेजुएलासँग भएको नयाँ ऊर्जा सम्झौताको प्रशंसा गर्दै यसलाई सम्भावित रूपमा ‘अमेरिकी इतिहासकै सबैभन्दा ठूलो सम्झौता’ भएको बताएका छन्। उनले भेनेजुएलालाई समावेश नगर्दा पनि अमेरिका विश्वमै सबैभन्दा ठूलो उत्पादक बनेको र हालै भेनेजुएलालाई आफ्नो तेल भण्डारमा जोडिएको बताएका छन्।

ट्रम्पले भेनेजुएलासँग अनुमानित ६५ अरब ब्यारेल प्रमाणित तेल भण्डार रहेको उल्लेख गर्दै सम्झौताले अमेरिकाको ऊर्जा क्षमता अझ बलियो बनाउने बताए। ह्वाइट हाउसका अनुसार, यो सम्झौता भेनेजुएलामा तेल उत्पादन तथा पुनर्निर्माणसँग सम्बन्धित व्यापक योजनाको हिस्सा हो।

सम्झौताअन्तर्गत नर्थ अमेरिकन ब्लु इनर्जी पार्टनर्स (एनएबीईपी) ले आफ्नो मूल कम्पनीमा रहेको ३५ प्रतिशत स्वामित्व हिस्सा कुनै शुल्कबिना पेन्टागनअन्तर्गतको रणनीतिक पुँजी कार्यालयलाई दिनेछ। साथै अमेरिकी विदेश मन्त्रालयलाई उत्पादित तेलको २० प्रतिशत हिस्सा लागत मूल्यमा खरिद गर्ने अधिकार दिइनेछ।

ह्वाइट हाउसका अनुसार, एनएबीईपीले भेनेजुएलाका १७ वटा तेल क्षेत्रका लागि १०० वर्षको अनुमति प्राप्त गरेको छ। यद्यपि, भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले यसअघि उक्त सम्झौता २५ वर्षको रहेको बताएकी थिइन्।

सम्झौताको अवधिबारे दुवै पक्षका भनाइमा देखिएको भिन्नताले सम्झौताका शर्तमाथि प्रश्नसमेत उठाएको छ। ह्वाइट हाउसको दाबीअनुसार, यस ऊर्जा सम्झौताबाट शुरुका २५ वर्षमा रोयल्टी तथा करमार्फत करिब २०० अरभ अमेरिकी डलर आम्दानी हुन सक्छ।

अमेरिकी प्रशासनका अनुसार, उक्त रकम भेनेजुएलाको पुनर्निर्माण, आर्थिक विकास तथा सामाजिक कल्याणसँग सम्बन्धित परियोजनामा प्रयोग गरिनेछ। ट्रम्प प्रशासनले यस सम्झौतालाई अमेरिकाको ऊर्जा शक्ति बढाउनुका साथै भेनेजुएलाको तेल स्रोतलाई पुनः विकास गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा प्रस्तुत गरिरहेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande