
- सिक्किम विश्वकर्मा प्रतिभा सम्मान २०२६ को दोस्रो संस्करणको तैयारी आरम्भ
गान्तोक, 10 सेप्टेम्बर (हि.स.)। विश्वकर्मा कामी कल्याण समिति, सिक्किमले सिक्किम विश्वकर्मा प्रतिभा सम्मान २०२६ को अवसरमा डा. बेला सिञ्चुरीलाई लाइफ टाइम अचिभमेन्ट पुरस्कार २०२६ प्रदान गर्ने भएको छ।
समितिका अनुसार, यस वर्षको कार्यक्रमको दोस्रो संस्करण २३ सेप्टेम्बरका दिन राजधानी गान्तोकको मनन केन्द्रमा आयोजना हुनेछ। यसको थीम ‘कनेक्टेड कम्युनिटी’ राखिएको छ। कार्यक्रमको अन्तिम दिन राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि रहनेछन्।
समितिले यस अवसरमा समुदायका तीन विशेष व्यक्तित्वलाई सम्मान गर्ने निर्णय गरेको छ। साहित्यकार भीम ठटाललाई कलम पुरस्कार २०२६ र चाणक्य तिरवालाई शिल्पकारिता पुरस्कार २०२६ प्रदान गरिनेछ। यसैगरी, डा. बेला सिञ्चुरीलाई लाइफ टाइम अचिभमेन्ट पुरस्कारले सम्मानित गरिनेछ।
कार्यक्रम श्रृंखला १२ सेप्टेम्बरदेखि शुरु भई २३ सेप्टेम्बरमा समापन हुनेछ। यसमा विविध सांस्कृतिक तथा सामुदायिक गतिविधिहरू समावेश गरिएका छन्। मुख्य आकर्षणका रूपमा १२ सेप्टेम्बरमा वृहत् रक्तदान शिविर आयोजना गरिनेछ, जसमा जो कोहीले पनि सहभागिता जनाउन सक्नेछन्।
त्यसपछि १३ सेप्टेम्बरमा ‘मि एण्ड मम’, १४ सेप्टेम्बरमा फेसन शो, १५ सेप्टेम्बरमा युथ एसेम्बली र १६ सेप्टेम्बरमा मारुनी नृत्य कार्यक्रम हुनेछन्। यी सबै कार्यक्रममा सबै समुदायका व्यक्तिहरू सहभागी हुन सक्ने बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल