
गान्तोक, 10 सेप्टेम्बर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका अध्यक्ष गणेश राईले पार्टीको राज्यव्यापी निर्वाचन क्षेत्र भ्रमण कार्यक्रमअन्तर्गत मार्ताम-रुम्तेक निर्वाचन क्षेत्रको दुईदिने भ्रमण सम्पन्न गरेका छन्। राई 9 सेप्टेम्बरमा मार्ताम-रुम्तेक पुगेका थिए।
भ्रमणका पहिलो साँझ उनले स्थानीयवासीसँग अन्तरक्रिया गर्नुका साथै निर्वाचन क्षेत्रका पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गरे। भ्रमणको दोस्रो दिन अध्यक्ष राईले नजिकैको शिवालय मन्दिरमा पूजा अर्चना गरे। त्यसपछि निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुगेर विभिन्न रोगबाट पीडित व्यक्तिहरूसँग भेट गरी पार्टीको तर्फबाट सहयोग प्रदान गरे।
भ्रमणको अन्तिम दिन समन्वय बैठकसँगै पार्टी प्रवेश कार्यक्रम आयोजना गरियो। बैठकमा निर्वाचन क्षेत्रका लागि पार्टीको भावी कार्यदिशाबारे छलफल गरिनुका साथै नयाँ सदस्यहरूलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरिएको थियो। कार्यक्रममा एसीईसी अध्यक्ष भाइचुङ लेप्चाले निर्वाचन क्षेत्रको प्रतिवेदन प्रस्तुत गरेका थिए।
बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष गणेश राईले नेता तथा कार्यकर्तालाई जनतामाझ पुगेर उनीहरूका समस्या र गुनासो सुन्न आग्रह गरे। उनले सिक्किमको वर्तमान प्रणालीमा सुधार ल्याउने पार्टीको प्रतिबद्धता दोहोर्याउँदै आवश्यकतामा रहेका नागरिकसम्म सेवा पुग्ने व्यवस्था निर्माण गर्नुपर्नेमा जोड दिए।
राईले आम नागरिकले सत्तारूढ दलका प्रतिनिधि वा सरकारी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए। उनले एसकेएम सरकारमाथि भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको आरोप लगाउँदै यस्ता प्रवृत्तिविरुद्ध लड्न सिटिजन एक्सन पार्टी सक्षम रहेको दाबी गरे। साथै, जनतालाई भ्रष्ट र असंवैधानिक शासनबाट मुक्त गराउन पार्टीका नेता तथा कार्यकर्तालाई सक्रिय रूपमा काम गर्न आह्वान गरे।
हिन्दुस्थान समाचार / बिशाल