
नयाँ दिल्ली, 11 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार महाराष्ट्रको नान्देडमा भएको सडक दुर्घटनामा मानिसहरूको मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवार तथा घाइतेहरूका लागि अनुग्रह रकमको घोषणा गरेका छन्। प्रधानमन्त्रीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका निकटतम परिवारजनलाई दुई लाख रुपियाँ र प्रत्येक घाइतेलाई ५० हजार रुपियाँ दिने घोषणा गरेका छन्।
प्रधानमन्त्रीले दुर्घटनामा ज्यान गुमाएका मानिसहरूका परिवारप्रति समवेदना व्यक्त गर्दै दुःखको यस घडीमा आफ्नो संवेदना शोकसन्तप्त परिवारहरूसँग रहेको बताएका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जालको माध्यम एक्समा भनेको छ, ‘महाराष्ट्रको नान्देडमा भएको दुर्घटनामा मानिसहरूको मृत्यु भएकोमा दुःखी छु। दुःखको यस घडीमा मेरो संवेदना शोकसन्तप्त परिवारहरूसँग छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’
उपराष्ट्रपति सीपी राधाकृष्णनले पनि नान्देडमा भएको सडक दुर्घटनामा मानिसहरूको मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गरेका छन्। उनले शोकसन्तप्त परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको प्रार्थना गरेका छन्।
लोकसभा अध्यक्ष ओम बिरलाले दुर्घटनाप्रति शोक व्यक्त गरेका छन्। उनले मृतकका परिवारहरूप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् र यस दुर्भाग्यपूर्ण घटनाबाट प्रभावित सबैलाई दुःख सहने शक्ति प्रदान होस् भनी प्रार्थना गरेका छन्।
उल्लेखनीय छ, महाराष्ट्रको भण्डारा जिल्लानजिक नान्देडमा नागपुर-रायपुर राजमार्गमा आज बिहान ट्रक र बोलेरोबीच भएको ठक्करमा नौ जनाको मृत्यु भएको थियो भने अन्य नौ जना घाइते भएका थिए।
हिन्दुस्थान समाचार / भवानी थामी