तमिलनाडु : मदुरान्तकमको उपचुनाउमा डीएमके-एआईएडीएमके र टीवीकेको त्रिकोणीय भिडन्त
तमिलनाडु : मदुरान्तकमको उपचुनाउमा डीएमके-एआईएडीएमके र टीवीकेको त्रिकोणीय भिडन्त


चेङ्गलपट्टु, 11 सेप्टेम्बर (हि.स.)। तमिलनाडुको राजनीतिमा मदुरान्तकम आरक्षित विधानसभा क्षेत्र यसपटक विशेष चर्चामा रहेको छ। सन् १९५१ मा विधानसभा क्षेत्रका रूपमा अस्तित्वमा आएको मदुरान्तकमको लामो राजनीतिक इतिहासमा पहिलोपटक उपनिर्वाचन हुन गइरहेको छ। द्रविड दलहरूको प्रभाव रहेको यस क्षेत्रमा सत्तारूढ तमिलगा वेत्रि कझगम (टीवीके), द्रविड मुनेत्र कडगम (डीएमके) र अखिल भारतीय अन्ना द्रविड मुनेत्र कडगम (एआईएडीएमके) बीचको प्रतिस्पर्धा त्रिकोणीय बनेको छ।

मदुरान्तकम विधानसभा क्षेत्रमा सन् १९५२ को पहिलो विधानसभा निर्वाचनमा कांग्रेसले जित हासिल गरेको थियो। त्यसपछि १९५७ र १९६२ मा पनि कांग्रेसले आफ्नो दबदबा कायम राखेको थियो। सन् १९६७ मा डीएमकेले यहाँ पहिलोपटक जित हासिल गर्यो र १९७१ तथा १९७७ मा लगातार जित हासिल गर्दै यस क्षेत्रलाई आफ्नो बलियो गढमा परिणत गर्यो।

त्यसपछि सन् १९८० मा एआईएडीएमकेले पहिलोपटक मदुरान्तकममा जित हासिल गरेको थियो। यसैगरी, १९८४ मा डीएमके तथा १९८९ र १९९१ मा एआईएडीएमकेले जित हासिल गरेका थिए। सन् १९९६ मा डीएमके र २००१ मा एआईएडीएमके विजयी भएका थिए। सन् २००६ मा कांग्रेसले लामो अन्तरालपछि पुनरागमन गरेको थियो, तर २०११ मा एआईएडीएमके र २०१६ मा डीएमकेले पुनः जित हासिल गरेका थिए।

मदुरान्तकमको निर्वाचन इतिहासमा कांग्रेसले चारपटक र डीएमकेले छपटक जित हासिल गरेका छन्। यसरी नै २०२१ र २०२६ का लगातार दुई विधानसभा निर्वाचन जितेर एआईएडीएमकेले यहाँ आफ्नो सातौँ जित हासिल गरेको छ।

२०२१ को निर्वाचनमा एआईएडीएमकेकी मरगतम कुमारवेलले ८६,६४६ मत प्राप्त गरी जित हासिल गरेकी थिइन्। सन् २०२६ मा पनि उनले ६९,२८४ मत प्राप्त गरी आफ्नो सिट कायम राखेकी थिइन्। यद्यपि, त्यसपछि राजनीतिक समीकरणमा ठूलो परिवर्तन आयो र मरगतम कुमारवेलले एआईएडीएमके छाडेर टीवीकेमा प्रवेश गरिन्।

यस वर्ष भएको विधानसभा निर्वाचनमा टीवीकेकी उम्मेदवार एझिल क्याथरिन एझिलमलाईले ६२,९०४ मत प्राप्त गरी दोस्रो स्थान हासिल गरेकी थिइन्, जबकि ५९,८३८ मत प्राप्त गर्ने डीएमके तेस्रो स्थानमा रहेको थियो। कुल ९३.२२ प्रतिशत मतदान भएको यस निर्वाचनमा एआईएडीएमकेले ३२.५८ प्रतिशत, टीवीकेले २९.२० प्रतिशत र डीएमकेले २८.१४ प्रतिशत मत प्राप्त गरेका थिए। तीन प्रमुख दलबीचको निकै कम मतान्तरले क्षेत्रमा रहेको कडा राजनीतिक प्रतिस्पर्धालाई उजागर गरेको थियो।

अब हुन लागेको उपचुनाउ यस कारणले पनि महत्वपूर्ण छ कि पछिल्ला दुई निर्वाचनमा एआईएडीएमकेको टिकटमा जित हासिल गरेकी मरगतम कुमारवेल यसपटक टीवीकेको उम्मेदवारका रूपमा मैदानमा छिन्। उनको प्रतिस्पर्धा डीएमकेका परन्दामन र एआईएडीएमकेकी कनिथा सम्पतसँग हुँदैछ।

कनिथा सम्पतले सन् २०११ मा यही विधानसभा क्षेत्रबाट एआईएडीएमकेको टिकटमा जित हासिल गरिसकेकी छन्। यस्तो अवस्थामा एआईएडीएमकेले आफ्नो पुरानो चुनावी प्रभाव र संगठनात्मक शक्तिको भरमा मैदान सम्हालेको छ भने टीवीकेले मरगतम कुमारवेलको व्यक्तिगत प्रभाव र नयाँ राजनीतिक विकल्पका रूपमा आफ्नो स्थान बनाउन प्रयास गरिरहेको छ। डीएमके पनि आफ्नो परम्परागत समर्थन आधारलाई बलियो बनाउन जुटेको छ।

मदुरान्तकम आरक्षित विधानसभा क्षेत्रमा आदिद्रविड समुदायको ठूलो जनसंख्या रहेको छ। यसका साथै वन्नियार र मुदलियार समुदायका मतदाताहरू पनि चुनावी परिणामलाई प्रभावित गर्ने महत्वपूर्ण शक्ति मानिन्छन्। क्षेत्रको सामाजिक संरचना र स्थानीय स्तरमा उम्मेदवारहरूको पकडले चुनावी परिणाममा निर्णायक भूमिका खेल्न सक्छ।

कृषिमा आधारित यस क्षेत्रमा जलस्रोतहरूको मर्मतसम्भार, सिँचाइसँग सम्बन्धित समस्या, सेय्यूर र मदुरान्तकम सहकारी चिनी मिलहरूमा प्रशासनिक सुधार तथा स्थानीय स्तरमा रोजगारीका अवसर प्रमुख मुद्दाहरूमा समावेश छन्।

मदुरान्तकम उपचुनाउको सबैभन्दा ठूलो प्रश्न यही हो कि टीवीकेको उपस्थितिले परम्परागत द्रविड दलहरूको भोट ब्यांकलाई कति प्रभावित गर्छ। पछिल्लो विधानसभा निर्वाचनमा टीवीकेले करिब २९ प्रतिशत मत प्राप्त गरी डीएमके र एआईएडीएमकेलाई कडा चुनौती दिएको थियो। अब त्यही राजनीतिक क्षेत्रमा एआईएडीएमकेकी पूर्व विजेता मरगतम कुमारवेल टीवीके उम्मेदवारका रूपमा मैदानमा उत्रिनुले प्रतिस्पर्धालाई अझ रोचक बनाएको छ।

अर्कोतर्फ, डीएमके आफ्नो संगठन र परम्परागत समर्थनका आधारमा पुनरागमनको प्रयासमा छ भने एआईएडीएमके सातपटकको जितको इतिहास र आफ्नो पुरानो जनाधार जोगाउन मैदानमा छ।

मदुरान्तकमको यो उपचुनाउलाई त्यसैले केवल एउटा सिटको निर्वाचन मात्र मानिएको छैन, तर यसलाई तमिलनाडुको बदलिँदो राजनीतिमा नयाँ राजनीतिक विकल्प र परम्परागत द्रविड दलहरूबीच बदलिँदो समीकरणको परीक्षाका रूपमा पनि हेरिएको छ। अब मतदाताहरूले पुरानो राजनीतिक प्रभाव, उम्मेदवारको व्यक्तिगत जनाधार र स्थानीय मुद्दाहरूमध्ये कुनलाई प्राथमिकता दिन्छन् भन्ने कुरा महत्वपूर्ण हुनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande