
कोलकाता, १२ सेप्टेम्बर (हि.स.)। तृणमूल कांग्रेसको चुनाउ चिह्नमाथि अधिकारलाई लिएर चलिरहेको विवाद निर्णायक चरणमा पुगेको छ। शनिवार अन्तिम सुनवाइका लागि दुवै गुटलाई निर्वाचन आयोग समक्ष बोलाइएको छ। त्यसअघि ऋतव्रत ब्यानर्जी नेतृत्वको गुटले आयोगसँग लगभग एक घण्टा २० मिनेट बैठक गरेको थियो। बैठकपछि ऋतव्रतले आयोगले सोधेका सबै प्रश्नको जवाफ दिएको र माग गरिएका कागजात समेत बुझाइएको दाबी गरे। उनले आफ्नो गुट तृणमूल कांग्रेसको चुनाउ चिह्न प्राप्त गर्ने विषयमा पूर्ण रूपमा आश्वस्त रहेको बताए।
‘वास्तविक’ तृणमूल कांग्रेसको प्रतिनिधित्व गर्ने दाबी गर्दै ऋतव्रत गुटबाट ऋतव्रत ब्यानर्जीका साथ अरूप राय, चन्द्रिमा भट्टाचार्य, अखरुज्जमान र अधिवक्ता अमन झा निर्वाचन आयोगको कार्यालय पुगेका थिए। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै ऋतव्रतले आयोग समक्ष तथ्य र कागजातका आधारमा आफ्नो पक्ष प्रस्तुत गरेको बताए। उनले केवल मनगढन्ते दाबी नगरी आफ्नो दाबीको समर्थनमा आवश्यक कागजात समेत पेश गरिएको बताए।
बैठकपछि ऋतव्रतले ममता ब्यानर्जीमाथि प्रत्यक्ष निशाना साध्दै तृणमूल कांग्रेसमा अब ‘न खाता, न बही, डाक्टर ममता ब्यानर्जीले जे भन्नुहुन्छ, त्यही सही’ भन्ने व्यवस्था नचल्ने बताए। उनले पार्टीमा कुनै एक व्यक्तिको इच्छानुसार निर्णय गर्न नसकिने र मनपरी निर्णय पनि थोप्न नसकिने दाबी गरे।
ऋतव्रतले भने, “तृणमूल कांग्रेस कुनै परिवारको पार्टी होइन। तृणमूल कांग्रेस कसैको बपौती होइन। यो तल्लो तहका कार्यकर्ताहरूको पार्टी हो।” विशेष कुरा के रह्यो भने ममता ब्यानर्जीमाथि उनले तीव्र आलोचना गरिरहँदा उनीसँग चन्द्रिमा भट्टाचार्य, अरूप राय र अखरुज्जमान जस्ता ममताका पुराना समर्थकहरू पनि उपस्थित थिए।
ऋतव्रतले आयोग समक्ष आफ्नो पक्ष राख्नुका साथै छिट्टै निर्णय गर्न आग्रह गरिएको बताए। यद्यपि आयोगले आफ्नो निर्णय कहिलेसम्म सुनाउने हो भन्ने विषयमा हालसम्म स्थिति स्पष्ट छैन।
उल्लेखनीय छ, पश्चिम बंगालका नन्दीग्राम र रेजीनगर विधानसभा क्षेत्रमा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने अन्तिम मिति १६ सेप्टेम्बर रहेको छ। दुवै गुटले त्यसअघि नै तृणमूल कांग्रेसको चुनाउ चिह्नलाई लिएर चलिरहेको विवाद समाधान होस् भन्ने चाहेका छन्, ताकि उपनिर्वाचनमा पार्टीको नाम र चुनाउ चिह्नलाई लिएर कुनै अन्योलता नहोस्।
हिन्दुस्थान समाचार / भवानी थामी