
नगाउँ (असम), 12 सेप्टेम्बर (हि.स.)। असमको जागीरोडमा निर्माणाधिन टाटा सेमीकण्डक्टर संयन्को परिसरभित्र शनिवार लगभग 15 वटा जङ्गली हात्तीहरूको बथानै पस्यो। हात्तीहरू पसेको सूचना पाउनसाथ सुरक्षा कारणले त्यहाँ काम गरिरहेका श्रमिकहरूलाई सुरक्षित स्थानमा पुऱ्याइयो। घटनामा कुनै पनि प्रकारको जनहानि भएको सूचना प्राप्त भएको छैन।
घटनाको जानकारी पाए लगत्तै वन विभागका अधिकारीहरू घटनास्थलमा पुगे अनि हात्तीहरूलाई सुरक्षित ढङ्गबाट परिसर बाहिर निकालेर जङ्गलतर्फ लैजाने प्रयास शुरू गरे। औद्योगिक परियोजनाको लागि हात्तीहरूको ओहोर-दोहोर एउटा विशेष चुनौतीको रूपमा मानिँदैछ, किनभने हात्तीहरू हिँड़दा उत्पन्न हुने कम्पनबाट सेमीकण्डक्टर निर्माणमा आवश्यक अत्यन्त सूक्ष्म स्तरको सठीकता प्रभावित हुनसक्छ।
परियोजना स्थललाई हात्तीहरूदेखि सुरक्षित राख्नको लागि असम सरकारको सहयोगमा बलियो हात्ती-रोधी सुरक्षा अवरोध पनि तयार गरिएको छ। यस अतिरिक्त परिसरमा सर्पहरू सहित अन्य वन्यजीवहरूको उपस्थितिको सामना गर्नको लागि प्रशिक्षित वन्यजीव बचाउ दलको सहायता लिइँदैछ। यो घटनाले औद्योगिक विकाससँगसँगै वन्यजीवहरूको आवागमन र संरक्षणबीच सन्तुलनको चुनौतीलाई पनि सामु ल्याएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा