लोवर साम्दोङमा प्रधानमन्त्री विश्वकर्मा स्टल उद्घाटन
लोवर साम्दोङमा प्रधानमन्त्री विश्वकर्मा स्टल उद्घाटन


गान्तोक, १५ सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री विश्वकर्मा योजनाअन्तर्गत राक्दोङ तिन्तेक खण्ड विकास कार्यालयले वाणिज्य तथा उद्योग विभाग र भारत सरकारको सूक्ष्म, साना तथा मध्यम उद्यम मन्त्रालयअन्तर्गत गान्तोकस्थित एमएसएमई-डीएफओको सहकार्यमा लोवर साम्दोङस्थित एनएचपीसी सभागारमा आज प्रधानमन्त्री विश्वकर्मा स्टलको उद्घाटन कार्यक्रम आयोजना गऱ्यो। कार्यक्रमको थीम 'कारीगरलाई सशक्त बनाउँदै, धरोहर संरक्षण गर्दै र स्थानीय उद्यम प्रवर्द्धन गर्दै' रहेको थियो।

प्रधानमन्त्री विश्वकर्मा योजनाअन्तर्गत स्थानीय कारीगरद्वारा उत्पादित सामग्रीको प्रवर्द्धन, प्रदर्शन तथा बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले स्टल स्थापना गरिएको बताइएको छ। कार्यक्रममा यो स्टल देशमै उद्घाटन गरिएको पहिलो प्रधानमन्त्री विश्वकर्मा स्टल भएको जानकारी दिइयो। यस अवसरमा क्षेत्र विधायक साम्डुप भोटिया मुख्य अतिथि तथा गान्तोक जिल्लाका जिल्ला अध्यक्ष बलराम अधिकारी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि भोटियाले कारीगरका लागि उपलब्ध विभिन्न सरकारी योजनाबारे जानकारी दिँदै उनीहरूलाई सरकारबाट प्राप्त सहयोगको पूर्ण उपयोग गर्न आग्रह गरे। उनले कारीगरहरूलाई उत्पादन बढाउन, सरकारसँग समन्वय गर्न तथा ब्रान्ड निर्माण र ग्रामीण बजारमा ध्यान दिन आह्वान गरे।

परम्परागत उत्पादनको संरक्षण तथा गुणस्तर कायम राख्न स्थानीय समुदायको सहभागिता आवश्यक रहेकोमा पनि उनले जोड दिए। उनले कारीगरहरूलाई सीप अभिवृद्धिका लागि सरकारी तालिम कार्यक्रममा सहभागी हुन, आत्मनिर्भर बन्न तथा समाजमा अर्थपूर्ण योगदान पुर्‍याउन प्रोत्साहित गरे।

विधायक भोटियाले उद्यम गर्न चाहने युवाहरूलाई सिक्किमको जैविक पहिचानको सदुपयोग गर्न आग्रह गर्दै रोजगारी खोज्ने अवस्थाबाट रोजगारी सिर्जना गर्ने उद्यमी बनेका राज्यका केही उद्यमीहरूको उदाहरण प्रस्तुत गरे। सरकार तथा वाणिज्य एवं उद्योग विभागले कारीगर र स्थानीय उद्यमीलाई निरन्तर सहयोग गर्ने उनले बताए।

गान्तोकका जिल्ला अध्यक्ष बलराम अधिकारीले छोटो समयमा स्टल स्थापना तथा सम्पत्तिको मर्मतसम्भार गरेकोमा आयोजक टोली र कारीगरहरूको प्रयासको प्रशंसा गरे। उनले कारीगरलाई तालिम, औजार, ऋण तथा बजार व्यवस्थापनमा सहयोग उपलब्ध गराएकोमा वाणिज्य एवं उद्योग विभागलाई धन्यवाद दिए। उनले कारीगरहरूलाई नयाँ उत्पादन विकास गर्न तथा सरकारी सहयोगको उपयोग गर्दै देशभरका व्यापक बजारसम्म पुग्न आग्रह गरे।

उनले उक्त स्टल युवा पुस्तालाई आत्मनिर्भर बन्न र राज्यको अर्थतन्त्रमा योगदान पुर्‍याउने मञ्चका रूपमा विकास हुन सक्ने बताए। साथै, यस्ता योजनाले भावी पुस्ताका लागि अवसर सिर्जना गर्नुका साथै ‘विकसित भारत २०४७’ को सामूहिक लक्ष्यमा योगदान पुर्‍याउने उनले उल्लेख गरे।

वाणिज्य एवं उद्योग विभाग, एमएसएमईका निर्देशक एम. रवि कुमारले प्रधानमन्त्री विश्वकर्मासहित विभिन्न योजनामार्फत १८ वटा पारिवारिक परम्परागत पेसामा संलग्न कारीगर तथा शिल्पीलाई उपलब्ध गराइँदै आएको समग्र सहयोगबारे जानकारी दिए। उनले बिना धितो ३ लाख रुपियाँसम्मको ऋण, दैनिक ५०० रुपियाँ भत्तासहितको कौशल तालिम तथा १५ हजार रुपियाँको औजार प्रोत्साहनजस्ता सुविधाबारे जानकारी दिए। उनले मुख्यमन्त्री उद्यमी योजनाबारे पनि उल्लेख गर्दै कारीगरहरूलाई आफ्ना उत्पादनको बजारीकरण गरी आफ्नो कामको प्रवर्द्धन गर्न र थप अवसर सिर्जना गर्न आग्रह गरे।

कार्यक्रममा पाँच जना लाभार्थी तथा कारीगरलाई सम्मान तथा आवण्टन पत्र प्रदान गरियो। मुख्य अतिथिले स्टलको अवलोकन गर्दै कारीगरहरूसँग अन्तरक्रिया पनि गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande