
गान्तोक, १५ सेप्टेम्बर (हि.स.)। राजधानीको मनन केन्द्रमा आज राष्ट्रिय अभियन्ता दिवस २०२६ को राज्यस्तरीय समारोह आयोजना गरियो। समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिका रूपमा उपस्थित थिए।
समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले राष्ट्रिय अभियन्ता दिवसको अवसरमा सम्पूर्ण अभियन्ता समुदायलाई शुभकामना तथा बधाई व्यक्त गरे। उनले राष्ट्रिय अभियन्ता दिवसका रूपमा मनाइने भारत रत्न सर एम. विश्वेश्वरैयाको जयन्तीको स्मरण गर्दै भारतीय अभियान्त्रिकी क्षेत्रमा उनको योगदानको प्रशंसा गरे। विश्वेश्वरैयाले मेहनत, अनुशासन, सिर्जनशीलता तथा समयको सदुपयोगमा दिएको जोडबाट प्रेरणा लिनुपर्ने उनले बताए।
मुख्यमन्त्रीले राष्ट्रिय अभियन्ता दिवसका अवसरमा आयोजित अन्तरविभागीय फुटसल प्रतियोगिता तथा अभियन्ता दिवस दौडलगायतका कार्यक्रमको प्रशंसा गर्दै यस्ता गतिविधिले अभियन्ताहरूमा शारीरिक तन्दुरुस्ती, आपसी सद्भाव तथा स्वस्थ कार्य-जीवन सन्तुलन कायम गर्न सहयोग पुर्याउने बताए।
उनले सिक्किमको पूर्वाधार विकासमा कार्यरत, वरिष्ठ तथा अवकाशप्राप्त अभियन्ताहरूको योगदानको पनि स्मरण गरे। सडक, पुल, भवन, खानेपानी प्रणाली, विद्युत् पूर्वाधार, सञ्चार सञ्जाल तथा अन्य सार्वजनिक सम्पत्तिको निर्माण र विकासमा उनीहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए।
अभियन्ताहरूको बदलिँदो भूमिकामाथि प्रकाश पार्दै मुख्यमन्त्रीले अभियन्ताहरू प्राविधिक क्षेत्र मात्र नभई प्रशासन, नीति कार्यान्वयन तथा नेतृत्वका क्षेत्रमा समेत बढ्दो रूपमा योगदान दिइरहेको बताए। उनले युवा अभियन्ताहरूलाई अग्रजहरूको अनुभवबाट सिक्न, नयाँ प्रविधिलाई आत्मसात् गर्न तथा नवीनता र सिर्जनशीलतालाई प्रोत्साहन गर्न आह्वान गरे।
विकासलाई राम्रो योजना, उच्च गुणस्तर तथा दिगोपनसहितका परियोजनामा परिणत गर्नुपर्नेमा जोड दिँदै उनले यस्ता परियोजनाले जनताको जीवनमा सकारात्मक प्रभाव पार्नुपर्ने बताए। अभियन्ताहरू समाज निर्माण तथा आधुनिक सभ्यताको आधार तयार गर्ने महत्वपूर्ण योगदानकर्ता रहेको उनले उल्लेख गरे।
मुख्यमन्त्रीले अभियन्ताहरूको कल्याण तथा व्यावसायिक उन्नतिका लागि राज्य सरकारले अघि बढाएका विभिन्न पहलको पनि जानकारी दिए। यसमा महत्वपूर्ण प्रशासनिक जिम्मेवारीमा अभियन्ताहरूको नियुक्ति तथा अस्थायी रूपमा कार्यरत युवा अभियन्ताहरूलाई नियमित गर्ने दिशामा चालिएका कदमहरू समावेश छन्। उनले अभियन्ता समुदायलाई ‘सुनौलो, समृद्ध अनि समर्थ सिक्किम’ निर्माणको दृष्टिकोणमा योगदान गर्न आह्वान गरे।
अवकाशप्राप्त अभियन्ताहरूको अमूल्य अनुभवको उल्लेख गर्दै मुख्यमन्त्रीले राज्यको विकासका लागि उनीहरूको ज्ञान र मार्गदर्शनको अझ व्यापक उपयोग गर्न राज्य सरकार प्रतिबद्ध रहेको बताए। उनले वर्तमान पुस्तालाई अग्रजहरूले छाडेको विरासतलाई निरन्तरता दिँदै भावी पुस्ताका लागि स्थायी विरासत निर्माण गर्ने दिशामा काम गर्न आग्रह गरे।
कार्यक्रममा सिक्किमको विकासमा समर्पित सेवा तथा योगदानका लागि अवकाशप्राप्त अभियन्ता, वास्तुविद् तथा ठेकेदारहरूलाई समारोहमा सम्मान गरिएको थियो। राष्ट्रिय अभियन्ता दिवस समारोहअन्तर्गत अखिल सिक्किम डिप्लोमा अभियन्ता संघद्वारा आयोजित विभिन्न गतिविधिका विजेतालाई मुख्यमन्त्रीले पुरस्कार वितरण गरे।
हिन्दुस्थान समाचार / बिशाल