धोतरिया कलेज भेल्ली जीपीयूकाे बीच गाउँ, अप्पर कलेज भेल्ली जाेखिममा
धोतरिया कलेज भेल्ली ग्राम पञ्चायतको बीच गाउँ, अप्पर कलेज भेल्ली क्षेत्रमा पानी बग्ने सठीक व्यवस्था नभएकोले खतरामा


सोनादा, १५ सेप्टेम्बर (हि.स.)। धोतरिया कलेज भेल्ली ग्राम पञ्चायत अन्तर्गत बीच गाउँ, अप्पर कलेज भेल्ली क्षेत्रमा सडक निर्माणपछि सिर्जना भएको अनियन्त्रित पानीको बहाव र त्यसबाट भइरहेको भू क्षयका कारण मानव बस्ती जोखिममा पर्न सक्ने अवस्था सिर्जना भएको छ।

विगत 2021-22 मा रंगबुल-तुङसुङ प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत सडक निर्माणका क्रममा डेल भ्यु स्कूल, भञ्ज्याङ, गोर्खा बस्तीको ठीक मुनि, कलेज भेल्ली चियाबगानको सहायक प्रबन्धक बङ्लो तथा बीच गाउँको माथिल्लो क्षेत्रमा ठूलो कल्भर्ट निर्माण गरिएको थियो। स्थानीयवासीका अनुसार, उक्त संरचना निर्माण हुनु अघिसम्म सो क्षेत्रमा व्यवस्थित नाली वा हालमा देखिएको जस्तो ठूलो मात्रामा पानी बग्ने कुनै प्राकृतिक जलनिकास थिएन। तर, सडक निर्माणपछि गोर्खा बस्तीको, भञ्ज्याङ क्षेत्रबाट आउने नाली तथा वर्षाको पानीलाई उचित र व्यवस्थित ड्रेनेज प्रणालीबिना उक्त स्थानतर्फ छोडिएको स्थानीयको भनाइ छ।

यसका कारण वर्षाको समयमा पानीको बहाव क्रमशः तीव्र हुँदै अहिले ठूलो मानव निर्मित झोडा तथा पानीको बहावको रूप लिएको स्थानीयहरुले बताएका छन्। यो समस्या देखिएपछि स्थानीय स्तरबाट सम्बन्धित विभाग तथा निकायहरूलाई जानकारी गराइएको थियो। त्यसपछि तत्कालीन अवस्थामा अस्थायी सुरक्षाका लागि सय दिने योजना अन्तर्गत सानो नाली निर्माण गर्ने काम समेत गरिएको थियो। तर समस्या तथा आवश्यक संरचना ठूलो रहेको भन्दै दीर्घकालीन समाधानका लागि सिँचाइ विभागमार्फत् आवश्यक काम अघि बढाइने जानकारी दिइएको स्थानीयको भनाइ छ।

तर त्यस यता वर्षौं बितिसक्दा पनि उक्त काम अघि बढ्न नसकेको भन्दै स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन्। स्थानीयका अनुसार, अहिले उक्त मानव निर्मित पानीको बहावले झन् विकराल रूप लिँदै गएको छ। निरन्तर पानीको बहावका कारण जमिन कटान तथा ढलान कमजोर हुने जोखिम बढ्दै गएको छ। समयमै प्राविधिक हस्तक्षेप नभएमा भविष्यमा उक्त जोखिम मानव बस्ती तथा घरहरूसम्म पुग्न सक्ने स्थानीयको आशंका छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande