
काबी तिङ्दा, १५ सेप्टेम्बर (हि.स.)। सिक्किमको आधिकारिक परिचयात्मक भ्रमणमा आएको प्रेस सूचना ब्युरो (पीआईबी), शिमलाको १३ सदस्यीय सञ्चार प्रतिनिधिमण्डलले आज काबी तिङ्दा खण्ड प्रशासनिक केन्द्रको भ्रमण गरेको छ।
प्रतिनिधिमण्डल काबी तिङ्दा पुगेपछि खण्ड विकास अधिकारी (बीडीओ) काबी तथा तिङ्मो वार्डका पञ्चायतले न्यानो स्वागत गरे। स्वागत कार्यक्रममा काबीका डिभिजनल इन्जिनियर, पञ्चायती राज संस्थाका सहायक निर्देशक, सडक विभागका सहायक अभियन्ता तथा सहायक वन संरक्षकलगायत स्थानीय अधिकारीहरूको उपस्थिति थियो।
औपचारिक अन्तरक्रियाका क्रममा काबी तिङ्दा खण्ड प्रशासनिक केन्द्रका डिभिजनल इन्जिनियर सोनाम पिन्चोले ‘जीवन्त गाउँ कार्यक्रम’ अन्तर्गत भइरहेका विकास कार्यको कार्यान्वयन तथा वर्तमान अवस्थाबारे प्रस्तुति दिए। उनले यस क्रममा सिक्किमको समृद्ध इतिहासबारे पनि जानकारी गराए।
यसैगरी, काबी तिङ्दाका खण्ड विकास अधिकारीले सिक्किम सरकारद्वारा कार्यान्वयन गरिएका प्रमुख प्राथमिकताप्राप्त कार्यक्रम, ग्रामीण विकासका पहल तथा जनकल्याणकारी नीतिबारे सञ्चार प्रतिनिधिमण्डललाई जानकारी दिए।
सांस्कृतिक आदानप्रदानको क्रममा पीआईबी शिमलाका सहायक निर्देशकले सद्भाव तथा मैत्रीको प्रतीकस्वरूप काबीका खण्ड विकास अधिकारीलाई परम्परागत हिमाचली टोपी तथा स्कार्फ प्रदान गरे।
प्रशासनिक जानकारी तथा अन्तरक्रियापछि प्रतिनिधिमण्डलले ऐतिहासिक काबी लुङचोकको भ्रमण गरी यसको गहिरो सांस्कृतिक तथा ऐतिहासिक महत्वबारे प्रत्यक्ष जानकारी लियो। विशेषगरी लेप्चा र भोटिया समुदायबीच १३औँ शताब्दीमा सम्पन्न पवित्र रक्त भ्रातृत्व सन्धिसँग सम्बन्धित इतिहासबारे प्रतिनिधिमण्डलले जानकारी प्राप्त गरेको थियो।
हिन्दुस्थान समाचार / बिशाल