उत्तरपूर्वी मुवाई थाई च्याम्पियनसिपमा सिक्किमका १५ खेलाडी सहभागी हुने
Muay Thai Association of Sikkim


गान्तोक, १६ सेप्टेम्बर (हि.स.)। सिक्किम मुवाई थाई सङ्घले आगामी २१ देखि २४ सेप्टेम्बरसम्म मिजोरमको आइजोलमा आयोजना हुने उत्तरपूर्वी मुवाई थाई च्याम्पियनसिपमा सहभागी हुन छनोट भएका सिक्किमका खेलाडीहरूलाई प्रदान गरिएको सहयोग, प्रेरणा तथा मार्गदर्शनका लागि सत्तारुढ एसकेएम पार्टीका युवा अध्यक्ष लाक्पा मोक्तानप्रति आभार व्यक्त गरेको छ।

सङ्घका अनुसार, लाक्पा मोक्तानले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सिक्किमका युवाहरूले खेलकुद तथा युवा मामिलासँग सम्बन्धित गतिविधिका साथै कला, संस्कृति, सङ्गीत, नृत्य तथा शैक्षिक क्षेत्रमा पनि पर्याप्त अवसर र सहयोग प्राप्त गरिरहेको बताए। यस्ता गतिविधिले युवाहरूको व्यावसायिक क्षमता विकास गर्नुका साथै रोजगारी तथा करियरका अवसर विस्तार गर्न सहयोग पुर्‍याउने छ।

मोक्तानले मुवाई थाई उत्तरपूर्वी राज्यहरूमा लोकप्रिय खेलका रूपमा विकसित हुँदै गएको तथा शिक्षा र सशस्त्र बलमा समेत यसले करियरका अवसर सिर्जना गर्न सक्ने बताए। मुख्यमन्त्रीको नेतृत्वमा राज्य सरकार खेलाडी तथा सम्बन्धित सङ्घ-संस्थालाई सहयोग गर्न सधैँ अग्रसर रहेको उनले उल्लेख गरे।

सिक्किम मुवाई थाई सङ्घले प्राविधिक सहयोग प्रदान गरेको खेलकुद तथा युवा मामिला विभागप्रति पनि आभार व्यक्त गरेको छ। साथै राष्ट्रिय पावरलिफ्टर रणजीत शर्माले प्रदान गरेको मार्गदर्शन र प्रेरणाका लागि पनि सङ्घले धन्यवाद दिएको छ।

भारत मुवाई थाई संयुक्त सङ्घको ब्यानरमा आयोजना हुने उक्त उत्तरपूर्वी मुवाई थाई च्याम्पियनसिपमा सिक्किमबाट प्राविधिक अधिकारीसहित कुल १५ जना खेलाडी तथा प्रतिनिधि सहभागी हुनेछन्। प्रतियोगितामा सिक्किमलाई सहभागी हुन निमन्त्रणा दिएकोमा सिक्किम मुवाई थाई सङ्घले मिजोरम मुवाई थाई सङ्घ तथा भारत मुवाई थाई संयुक्त सङ्घप्रति पनि आभार व्यक्त गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande