
गान्तोक, १६ सेप्टेम्बर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले विश्वकर्मा पूजाको पावन अवसरमा सम्पूर्ण सिक्किमवासीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
आफ्नो सन्देशमा राज्यपालले हिन्दू धार्मिक मान्यताअनुसार भगवान विश्वकर्मालाई ब्रह्माण्डका प्रमुख वास्तुकार तथा सृष्टिका देवताका रूपमा मानिने बताएका छन्। यो पर्वले कला, शिल्प, विज्ञान तथा प्राविधिक सीपप्रतिको हाम्रो श्रद्धालाई अभिव्यक्त गर्ने उनले बताएका छन्।
यस विशेष अवसरमा राज्यका सबै दक्ष शिल्पकार, कारीगर, श्रमिक दाजुभाई तथा दिदीबहिनी र सबै कर्मयोगीहरूलाई विशेष शुभकामना व्यक्त गर्दै राज्यपालले उनीहरूको कडा मेहनत र सिर्जनशीलता नै समाजको विकास तथा राष्ट्र निर्माणको मुख्य आधार रहेको बताएका छन्।
राज्यपालले विश्वकर्मा पूजाको अवसरमा सबै मिलेर आफ्नो कार्यक्षमता र सिर्जनशीलतालाई नयाँ उचाइमा पुर्याउँदै सिक्किमलाई अझ प्रगतितर्फ अघि बढाउने सङ्कल्प गर्नुपर्ने बताएका छन्।
उनले निर्माण तथा शिल्पकलाका देवता भगवान विश्वकर्माको आशीर्वादले सिक्किमका प्रत्येक नागरिकको जीवनमा सुख, समृद्धि, उत्तम स्वास्थ्य, शान्ति तथा आपसी सद्भाव कायम होस् भनी प्रार्थना गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल