
गान्धीनगर, १६ सेप्टेम्बर (हि.स.)। भारतको ब्रिक्स अध्यक्षता २०२६ अन्तर्गत नयाँ दिल्लीमा १० देखि १५ सेप्टेम्बरसम्म आयोजित ब्रिक्स बजारमा १८ देशका ४४ कारीगरले आफ्ना परम्परागत हस्तकला तथा सिर्जनात्मक परम्पराको प्रदर्शन गरे। ‘शिल्पबाट संस्कृति, मानिसहरूसॅंग सम्बन्ध’ भन्ने मूल नाराका साथ आयोजित बजारको संयोजन निफ्ट गान्धीनगरले विदेश मन्त्रालय तथा हस्तकला विकास आयुक्तको कार्यालयसँगको परामर्शमा गरेको थियो।
राष्ट्रिय शिल्प संग्रहालय तथा हस्तकला अकादमीमा आयोजित बजारमा भारतका अतिरिक्त बेलारुस, बोलिभिया, ब्राजिल, चीन, क्युबा, इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, कजाकिस्तान, मलेसिया, नाइजेरिया, रुस, दक्षिण अफ्रिका, युगान्डा, उज्बेकिस्तान र भियतनामका कारीगरले आफ्ना विशिष्ट हस्तकला तथा सिर्जनात्मक परम्परा प्रस्तुत गरेका थिए।
बजारमा हातले बनाइएका कपडा, विलो बुनाइ, मनका कला, लाख कला, प्राकृतिक छपाइ, कागजको लुग्दीबाट बनाइएका कलाकृति, माटाका भाँडा, बुनाई, चित्रकला, मूर्ति निर्माण, काठ तथा लौकीबाट बनाइएका सामग्री, बाटिक र तातो इनामेल कलालगायत विभिन्न परम्परागत शिल्प प्रस्तुत गरिएको थियो।
ब्रिक्स बजारको विशेष आकर्षण निफ्ट गान्धीनगरले तयार पारेका तीन विषयगत कला-स्थापना थिए- ‘एक संगम: एकताको ढाँचा’, ‘सांस्कृतिक संगम: सँगै बुनिएका संस्कृति’ र ‘सहअस्तित्व: जीवन वृक्ष’।
‘एक संगम: एकताको ढाँचा’ मा ब्रिक्सका २१ सदस्य तथा साझेदार देशका हस्तकला परम्परा र दृश्य अभिव्यक्तिबाट प्रेरित २१ वटा फरक ढाँचालाई एकै ठाउँमा प्रस्तुत गरिएको थियो। विभिन्न सांस्कृतिक पहिचानलाई एउटै दृश्य संरचनामा समेट्दै यसमार्फत एकता, संवाद र आपसी सम्बन्धको सन्देश दिइएको थियो।
यसैगरी, ‘सांस्कृतिक संगम: सँगै बुनिएका संस्कृति’ मा बुनाइलाई विभिन्न संस्कृतिको मिलनको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। ‘सहअस्तित्व: जीवन वृक्ष’ मार्फत विभिन्न संस्कृति, समुदाय र प्रकृतिबीचको आपसी सम्बन्ध तथा सहअस्तित्वको भावनालाई अभिव्यक्त गरिएको थियो।
आगन्तुकलाई कारीगर तथा उनीहरूको हस्तकलाको पृष्ठभूमिबारे जानकारी उपलब्ध गराउन प्रत्येक प्रदर्शनी कक्षमा विशेष परिचय प्यानल र क्यूआर कोड राखिएका थिए। क्यूआर कोडमार्फत सम्बन्धित कारीगरको परिचय, उनीहरूको हस्तकला तथा सम्पर्क विवरण प्राप्त गर्न सकिने व्यवस्था गरिएको थियो। यस पहलमार्फत परम्परागत हस्तकलालाई डिजिटल कथावाचनसँग जोडिएको थियो। यसले आगन्तुकलाई कला तथा कलाकार दुवैलाई बुझ्ने नयाँ अनुभव प्रदान गरेको थियो।
बजारका क्रममा विभिन्न परम्परागत हस्तकलाको प्रत्यक्ष प्रदर्शनसमेत गरिएको थियो। मध्य प्रदेशको कपडा छपाई, राजस्थानको लाखका चुरा, कश्मीरको कागजको लुग्दीबाट बनाइने कला तथा राजस्थानको टेराकोटा हस्तकलाको प्रस्तुतिले आगन्तुकलाई कारीगरको सीप र सिर्जनात्मक प्रक्रियालाई नजिकबाट अवलोकन गर्ने अवसर दिएको थियो। केही गतिविधिमा आगन्तुकले कारीगरसँगै सहभागी भएर हस्तकला निर्माणको अनुभवसमेत लिएका थिए।
ब्रिक्स बजार-२०२६ ले हस्तकलालाई केवल बिक्री वा प्रदर्शनीको वस्तुका रूपमा नभई संवाद, सांस्कृतिक समझदारी तथा मानिसबीचको सम्बन्ध विस्तार गर्ने माध्यमका रूपमा प्रस्तुत गरेको थियो। भारतको ब्रिक्स अध्यक्षताका क्रममा आयोजित यस जनसहभागितामूलक पहलले विभिन्न देशका सांस्कृतिक पहिचानलाई साझा मञ्च प्रदान गरेको थियो।
विभिन्न देशका कला, परम्परा र सिर्जनशीलतालाई एउटै मञ्चमा ल्याएको यस आयोजनाले हस्तकलामार्फत संस्कृतिबीच संवाद र मानिसबीचको सम्बन्धको सन्देश प्रस्तुत गरेको थियो।
हिन्दुस्थान समाचार / बिशाल