महेन्द्र पी लामाले राजीनामा दिनुपर्ने माग, सेप्टेम्बरभित्र नहटाइए अक्टोबरदेखि सीएपी सडकमा उत्रिने
सीएपी सिक्किमकाे पत्रकार सम्मेलन।


गान्तोक, १६ सेप्टेम्बर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले डा. महेन्द्र पी. लामाले सिक्किमको आर्थिक सल्लाहकारको पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ। डा. लामाले स्वयं राजीनामा दिनुपर्ने अथवा सिक्किम सरकारले उनलाई पदबाट हटाउनु पर्ने माग गरिएको छ। सेप्टेम्बर महिनाभरि डा. लामालाई नहटाइए आगामी अक्टोबर महिनादेखि सीएपी सडकमा उत्रिने चेताउनी दिइएको छ।

सीएपी सिक्किमले आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा यस्तो माग गरेको हो। सीएपीका उपाध्यक्ष (राजनीतिक मामिला) भुसन अधिकारीले वर्तमानमा दार्जिलिङको स्थायी राजनीतिक समाधान (पीपीएस) को चर्चा चुलिएर गएको छ भने डा. महेन्द्र पी. लामाले छिमेकी भूभागसॅंग जोडिएर पनि राज्य गठन गर्न सकिने विकल्पको कुरा गरिरहेको बताए। डा. लामाले सिक्किमको नाम उल्लेख नगरेको भए तापनि उनको आसय सिक्किम-दार्जिलिङ एकीकरण नै रहेको अधिकारीले दाबी गरे।

उनले डा. महेन्द्र पी. लामालाई सिक्किम सरकारले आफ्नो आर्थिक सल्लाहकार नियुक्त गरेको बताउॅंदै डा. लामाले सिक्किमको हितमा काम गर्नुका सट्टामा अहित गर्ने काम गरिरहेको आरोप लगाए। यस कारण डा. लामालाई यस पदमा बनिरहने कुनै नैतिक अधिकार नरहेको बताउॅंदै उनले झट्ट डा. लामाको राजीनामाको माग गरे।

अर्कातिर, यस विषयमा सिक्किम सरकारको मौनतालाई लिएर पनि उनले प्रश्न उठाए। उनले डा. लामालगायत पूर्व विधायक डा. हर्क बहादुर छेत्रीले समेत दार्जिलिङ र सिक्किम एकीकरणको मुद्दा उठाइरहॅंदा सिक्किम सरकारबाट कुनै प्रकारको प्रतिक्रिया नआउनुले कतै सिक्किम सरकारको मिलीभगतमा खिचडी त पाकिरहेको छैन भन्ने शंका उत्पन्न हुनु स्वाभाविक रहेको बताए।

उनले सीएपीको अडान स्पष्ट पार्दै सीएपी गोर्खाल्याण्ड राज्य गठन अथवा स्थायी राजनीतिक समाधान भएको हेर्न चाहन्छ, तर यस क्रममा सिक्किमको पहिचान र अखण्डतालाई अक्षुण्ण राखिएको हुनुपर्छ भनी बताए। उनले भने, 'सिक्किमको पहिचान र अखण्डतामा कुनै प्रकारको हस्तक्षेप नगरि दार्जिलिङको स्थायी राजनीतिक समाधान गरियोस्।'

डा. लामाले झट्ट आर्थिक सल्लाहकारको पदबाट राजीनामा दिनुपर्छ अथवा सिक्किम सरकारले उनलाई उक्त पदबाट मुक्त गर्नुपर्छ भनी उनले माग गरे। उपाध्यक्ष अधिकारीले राज्य सरकारलाई सेप्टेम्बर 2026 सम्मको अल्टिमेटमसमेत दिए। सेप्टेम्बर महिनाभित्र डा. लामालाई नहटाइए सीएपी आगामी अक्टोबर महिनादेखि सडकमा उत्रिने उनले चेताउनी दिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande