
नयाँ दिल्ली, १७ सेप्टेम्बर (हि.स.)। विश्वकर्मा जयन्तीको अवसरमा लोकसभा अध्यक्ष ओम बिरला, केन्द्रिय गृहमन्त्री तथा सहकारितामन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, केन्द्रिय सड़क परिवहन तथा राजमार्गमन्त्री नितिन गडकरी लगायत विभिन्न केन्द्रिय मन्त्री तथा राज्यका मुख्यमन्त्रीहरूले देशवासीलाई शुभकामना दिएका छन्। नेताहरूले भगवान् विश्वकर्मालाई सिर्जना, निर्माण, शिल्प तथा प्राविधिक दक्षताको प्रतीकका रूपमा उल्लेख गर्दै देशका कारीगर, शिल्पकार, श्रमिक तथा इन्जिनियरहरूको योगदानलाई नमन गरेका छन्।
लोकसभा अध्यक्ष ओम बिरलाले भगवान विश्वकर्मा भारतीय ज्ञान, निर्माणकला तथा प्राविधिक दक्षताको समृद्ध परम्पराका प्रतीक भएको बताए। आफ्नो सीप र मेहनतबाट देशको विकासलाई गति दिने कारीगर, शिल्पकार, श्रमिक, इन्जिनियर तथा अन्य कर्मयोगीको सम्मान गर्ने अवसरका रूपमा पनि यो पर्व रहेको उनले बताए। सीप, नवीनता तथा कर्मठतालाई देशको शक्तिका रूपमा स्थापित गर्ने संकल्प लिन उनले आह्वान गरे।
केन्द्रिय गृहमन्त्री तथा सहकारिता मन्त्री अमित शाहले विश्वकर्मा जयन्तीको शुभकामना दिँदै आफ्नो सीप र परिश्रमबाट विकसित भारतको आधार बलियो बनाउने शिल्पकार, कारीगर तथा श्रमिकलाई नमन गरे।
रक्षामन्त्री राजनाथ सिंहले देशका शिल्पकार, श्रमिक तथा कारीगरको सीप, परिश्रम र सिर्जनशीलताले आत्मनिर्भर तथा विकसित भारत निर्माणलाई गति दिइरहेको बताए। उनले भगवान् विश्वकर्मासँग सबैको जीवनमा सुख, समृद्धि तथा सफलता प्राप्त होस् भन्ने कामना गरे।
केन्द्रिय सड़क परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले विश्वकर्मा जयन्तीको शुभकामना दिँदै भगवान् विश्वकर्मालाई निर्माण तथा सिर्जनाका प्रतीकका रूपमा उल्लेख गरे। देशको पूर्वाधार विकासलाई नयाँ गति प्रदान गर्न भगवान् विश्वकर्माको आशीर्वाद प्राप्त होस् भन्ने कामना उनले गरे।
संसदीय मामिला तथा अल्पसंख्यक मामिला मन्त्री किरेन रिजिजूले भगवान् विश्वकर्मालाई सृष्टिका दिव्य शिल्पकार तथा वास्तु एवं निर्माणकलाका अधिष्ठाता बताए। उनले देशको निर्माण तथा सीप शक्तिलाई निरन्तर सुदृढ़ बनाउने कामना गरे।
आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले भगवान् विश्वकर्माको जयन्तीमा देशवासीलाई बधाई दिए। देशको विकासमा आफ्नो श्रम र सीपबाट योगदान पुर्याउने श्रमिक तथा कारीगरलाई नमन गर्दै उनले प्रत्येक घरमा समृद्धि तथा खुसीयाली छाओस् भन्ने कामना गरे।
हिन्दुस्थान समाचार / भवानी थामी