
नयाँ दिल्ली, २ सेप्टेम्बर (हि.स.)। राष्ट्रिय राजमार्ग प्राधिकरण (एनएचएआई) का विभिन्न टोल प्लाजामा कथित रूपमा नक्कली टोल असुली तथा रकम हेरफेरसँग सम्बन्धित धनशोधन प्रकरणमा प्रवर्तन निर्देशनालय (ईडी) ले बुधबार उत्तर प्रदेश, राजस्थान, महाराष्ट्र, जम्मू, मध्य प्रदेश, राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) र कोलकाताका १४ स्थानमा छापा मारेको छ।
ईडीका अनुसार, एजेन्सीको लखनऊ क्षेत्रीय कार्यालयका टोलीहरूले धनशोधन निवारण ऐन (पीएमएलए), २००२ को धारा १७ अन्तर्गत उक्त छापा मारेका हुन्। यससम्बन्धी अनुसन्धान २२ जनवरी, २०२५ मा दर्ता भएको एफआईआर नम्बर १७ तथा १९ मई, २०२५ मा दर्ता गरिएको प्रवर्तन मामिला सूचना रिपोर्ट (ईसीआईआर) नम्बर ईसीआईआर/एएसजेडएसओ/०४/२०२५ का आधारमा शुरु गरिएको थियो।
अनुसन्धानका क्रममा एनएचएआईका विभिन्न टोल प्लाजामा आधिकारिक प्रणालीबाहिर गएर टोल रसिद तयार गर्न तथा टोलबाट प्राप्त रकमलाई आधिकारिक लेखा प्रणालीबाहिर पठाउन कथित रूपमा अनधिकृत सफ्टवेयर एप्लिकेसन प्रयोग गरिएको पाइएको छ।
जाँच एजेन्सीका अनुसार, सफ्टवेयरमार्फत तयार गरिएका अनधिकृत टोल रसिद तथा रकमको कथित हेरफेरको पुष्टि फरेन्सिक जाँच र एनएचएआईबाट प्राप्त अभिलेखबाट समेत भएको छ। अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा ईडीले सम्बन्धित परिसरमा तलासी अभियान चलाएको हो।
छापामारीको उद्देश्य प्रकरणसँग सम्बन्धित डिजिटल उपकरण तथा दस्तावेजी प्रमाण बरामद गर्नु, कथित रूपमा यस व्यवस्थाबाट लाभान्वित भएका व्यक्तिहरूको पहिचान गर्नु तथा अपराधबाट आर्जित रकमको स्रोत र प्रवाह पत्ता लगाउनु रहेको ईडीले जनाएको छ।
तलासीका क्रममा फेला परेका विद्युतीय उपकरण, दस्तावेज तथा अन्य अभिलेखहरूको टोलीले जाँच गरिरहेको छ। ईडीले प्रकरणमा थप अनुसन्धान जारी रहेको जनाएको छ।
हिन्दुस्थान समाचार / बिशाल