
देहरादून, २ सेप्टेम्बर (हि.स.)। चारधाम यात्राको दोस्रो चरणमा केदारनाथ धाम जाने श्रद्धालुहरूका लागि हेली सेवा १५ सेप्टेम्बरदेखि पुनः सञ्चालन हुने भएको छ। उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरण (यूसीएडीए) ले यसका लागि तयारी तीव्र बनाएको छ र पहिलो टिकट बुकिङ विन्डो ७ सेप्टेम्बरदेखि खोल्ने तयारी गरेको छ।
यूसीएडीएका अनुसार, टिकटको कालोबजारी रोक्न तथा बुकिङ व्यवस्थालाई व्यवस्थित बनाउन दोस्रो चरणमा १५-१५ दिनको अवधिका लागि चरणबद्ध रूपमा टिकट उपलब्ध गराइनेछ। प्राधिकरणले हेली सञ्चालकहरूसँग आवश्यक बैठक गरिसकेको छ। साथै नागरिक उड्डयन महानिदेशालय (डीजीसीए) र मौसम विभागसँग पनि समन्वय भइरहेको छ।
यूसीएडीएले हेली सेवा मौसमको अवस्था, सुरक्षा मापदण्ड तथा डीजीसीएको अनुमतिअनुसार मात्र सञ्चालन गरिने जनाएको छ। प्राधिकरणले श्रद्धालुहरूलाई केवल आधिकारिक माध्यमबाट टिकट बुक गर्न अपील गरेको छ। केदारनाथ शटल सेवाका लागि heliyatra.irctc.co.in र बद्रीनाथ शटल सेवाका लागि helitaxii.com प्रयोग गर्न तथा अनधिकृत एजेन्ट र बिचौलियाबाट टिकट नकिन्न आग्रह गरिएको छ।
चारधाम यात्राको पहिलो चरणमा गुप्तकाशी, फाटा र सिरसीस्थित हेलीप्याडबाट आठ हेली सञ्चालकमार्फत केदारनाथका लागि सेवा सञ्चालन गरिएको थियो। यस अवधिमा करिब ६७ हजार श्रद्धालुले हेली सेवाको लाभ लिएका थिए।
हिन्दुस्थान समाचार / भवानी थामी