
गान्तोक, 20 सेप्टेम्बर (हि.स.)। सिक्किम एथलेटिक्स एसोसिएसनको तर्फबाट ३७औँ पूर्वी क्षेत्रीय जुनियर एथलेटिक्स च्याम्पियनसिप २०२६ मा सहभागी हुन १८ सदस्यीय सिक्किम टोली बिहारको पटनातर्फ प्रस्थान गरेको छ। प्रतियोगिता २२ देखि २४ सेप्टेम्बरसम्म पटनाको कंकरबागस्थित पाटलिपुत्र खेलकुद परिसरमा आयोजना हुँदैछ।
टोलीमा १५ जना खेलाडी र तीन जना पदाधिकारी रहेका छन्। टोलीको प्रबन्धकका रूपमा हिस्से तेनजिङ भोटियाले नेतृत्व गर्नेछन् भने चन्द्रमाया दास र आरबी सुब्बा प्रशिक्षकका रूपमा रहेका छन्।
बिहार एथलेटिक्स एसोसिएसनले भारतीय एथलेटिक्स महासंघको संरक्षणमा आयोजना गरिरहेको प्रतियोगितामा पूर्वी क्षेत्रका विभिन्न राज्यका जुनियर खेलाडीहरूले अन्डन १४, अन्डर १६, अन्डर १८ र अन्डर २० उमेर समूहअन्तर्गत ट्र्याक, फिल्ड तथा संयुक्त विधाका विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्।
एसोसिएशनका अनुसार, औपचारिक छनोट समितिको प्रक्रियामार्फत सिक्किमको १५ सदस्यीय खेलाडी टोली छनोट गरिएको हो। टोलीले व्यक्तिगत तथा रिले गरी २७ स्पर्धामा सहभागिता जनाउनेछ।
सिक्किम एथलेटिक्स एसोसिएशनले राज्यका युवा खेलाडीलाई निरन्तर प्रोत्साहन तथा सहयोग प्रदान गर्दै आएकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति आभार व्यक्त गरेको छ। साथै, प्रतियोगितामा टोलीको सहभागिता सुनिश्चित गर्न सहयोग पुर्याएकोमा राज्य खेलकुद तथा युवा मामिला विभागकी सचिव याङछेन डी. तामाङप्रति पनि कृतज्ञता व्यक्त गरेको छ।
सिक्किम एथलेटिक्स एसोसिएशनले प्रतियोगितामा सहभागी सम्पूर्ण टोलीलाई सफलताको शुभकामना दिँदै सुरक्षित यात्राको कामना गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल