रिम्बी पैह्रो प्रभावित परिवारलाई सीएपीको राहत सहयोग
रिम्बी पैह्रो प्रभावित परिवारलाई सीएपीको राहत सहयोग


गेजिङ, २६ सेप्टेम्बर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको गेजिङ जिल्ला टोलीले आज पश्चिम सिक्किमको रिम्बीमा गएको विनाशकारी पैह्रोबाट प्रभावित क्षेत्रको भ्रमण गरी पीडित परिवार तथा स्थानीय बासिन्दालाई खाद्य सामग्री सहयोग गरेको छ। यस क्रममा टोलीले पैह्रो प्रभावित परिवार तथा स्थानीय बासिन्दासँग भेट गरी उनीहरूको अवस्था र समस्याबारे जानकारी लिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

सीएपी अध्यक्ष गणेश के. राई तथा पार्टीको तर्फबाट प्रभावित परिवारहरूलाई ऐक्यबद्धता स्वरूप खाद्य सामग्री प्रदान गरिएको जनाइएको छ। पैह्रोले क्षेत्रमा जनजीवन प्रभावित भएको र परिवारहरूले अनिश्चितता तथा कठिनाइको सामना गरिरहेको जनाउँदै सीएपीले सबै प्रभावितप्रति ऐक्यबद्धता व्यक्त गरेको छ। साथै स्थानीय बासिन्दा, स्वयंसेवक तथा राहत र उद्धार कार्यमा संलग्न सबैको प्रयासको प्रशंसा गरेको छ।

सीएपीले राजनीति जनताको जीवनसँग जोडिएको हुनुपर्ने बताउँदै संकटका बेला प्रभावित क्षेत्रमा पुग्नु, परिवारका समस्या सुन्नु र व्यावहारिक सहयोग उपलब्ध गराउनु समाजप्रतिको जिम्मेवारी रहेको उल्लेख गरेको छ। गेजिङ जिल्ला टोलीले प्रभावित परिवारलाई निरन्तर सहयोग र सहकार्यका लागि अपील गर्दै पैह्रो तथा अस्थिर भू-भागका कारण जोखिम कायम रहेकाले सबैलाई सतर्क रहन आग्रह गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande