विद्यासागर विश्वविद्यालयमा शुरू भयो विद्यासागर सङ्ग्रहालय
विद्यासागर विश्वविद्यालयमा शुरू भयो विद्यासागर सङ्ग्रहालय


मेदिनीपुर, 26 सेप्टेम्बर (हि.स.)। ईश्वरचन्द्र विद्यासागरका रचनाहरू, उनका जीवनसित सम्बन्धित दस्तावेजहरू तथा विभिन्न पुस्तकहरूलाई संरक्षण गर्ने उद्देश्यले विद्यासागर विश्वविद्यालयमा ‘विद्यासागर सङ्ग्रहालय’ शुरू गरिएको छ। गए शुक्रवार राती विद्यासागरको 207औं जयन्तीको पूर्वसन्ध्यामा राज्यका शिक्षा मन्त्री जगन्नाथ चट्टोपाध्यायले उक्त सङ्ग्रहालयको उद्घाटन गरे।

यस अवसरमा विद्यासागर विश्वविद्यालय परिसरमा ‘श्यामाप्रसाद मुखर्जी रीडर्स पार्क’ -को पनि उद्घाटन गरियो। साथै विद्यासागर स्मृति व्याख्यान, विद्यासागर पुरस्कार प्रदान गर्ने कार्यक्रम आयोजना गरियो। विद्यासागर रचनावलीको चौथौ खण्ड तथा उनको ‘शकुन्तला’ पुस्तकको चार वटा भाषाहरूमा रहेको संस्करणको प्रकाशन पनि गरियो।

विश्वविद्यालयको पक्षबाट विद्यासागरद्वारा रचयित विभिन्न पुस्तकहरू, उनको बारेमा प्रकाशित पुस्तकहरू, वंशावली औ उनका सामाजिक आन्दोलनहरूसित सम्बन्धित घटनाहरूलाई एक ठाउँमा संरक्षित गरिएको छ। तीन वटा कोठाभित्र तयार पारिएको सङ्ग्राहलयमा विद्यासागरसित सम्बन्धित विभिन्न जानकारीहरू, तस्वीर, दस्तावेज पत्र एवं पुस्तकहरू राखिएको छ।

उनले प्रयोग गरेका जुत्तालाई पनि सङ्ग्राहलमा संरक्षित गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै उच्च शिक्षा मन्त्रीले राज्यमा शिक्षाको पुरानो गौरवलाई फर्काइल्याउनको लागि सरकारले गरिरहेका प्रयासहरूको उल्लेख गरे। उनले पछिल्लो सरकारको कार्यकालमा शिक्षाको क्षेत्रमा भएको कथित भ्रष्टाचारको पनि उल्लेख गर्दै शिक्षक भर्तीमा भ्रष्टाचार गरेको आरोप लगाए। विद्यासागरका आदर्शहरूलाई अगाड़ि राखेर राज्यको शिक्षा व्यवस्थाको विकासमाथि बल दिइनेछ।

यस अवसरमा विश्वविद्यालयका कुलपति दीपक कुमार कर समेत अन्य वक्ताहरूले विद्यासागरका आदर्श अनि उनका योगदानलाई स्मरण गरे। शनिवार ईश्वरचन्द्र विद्यासागरको 207औं जयन्ती मनाइँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande