सिक्किम प्रतिनिधिमण्डल एल्डरशटमा आयोजित नेपाली स्वदेशी चलचित्र महोत्सवमा सहभागी
नेपाली स्वदेशी चलचित्र महोत्सव


गान्तोक, २८ सेप्टेम्बर (हि.स.)। सिक्किमको एक प्रतिनिधिमण्डल बेलायतको एल्डरशटमा नेपाल स्कटल्यान्ड एसोसिएसनद्वारा आयोजित नेपाली स्वदेशी चलचित्र महोत्सवमा सहभागी भएको छ। प्रतिनिधिमण्डलमा स्वास्थ्य मन्त्री जीटी ढुङ्गेल र उनकी पत्नी उषा तामाङ, सिक्किम फिल्म बोर्डका अध्यक्ष टाशी छिरिङ भोटिया, सिक्किम कला, संस्कृति तथा सम्पदा विकास बोर्डका अध्यक्ष सञ्जय दिलपाली राई, बोर्ड सदस्य थुप्देन रिन्जिङ भोटिया तथा सिक्किमकी कलाकार श्यामाश्री शेर्पा सहभागी थिए।

कार्यक्रममा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन द्विवेदी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

महोत्सवले सिक्किमका चलचित्र तथा कलाकारलाई अन्तरराष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्ने थप सम्भावनाबारे प्रतिनिधिमण्डललाई जानकारी लिने अवसर प्रदान गरेको बताइएको छ। महोत्सवमा नियारा सुब्बाको ‘नुमाहाङ्मा’ र साम्तेन भोटियाको ‘तारा’ लगायत सिक्किममा निर्मित चलचित्र प्रदर्शन गरिएको थियो।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले विभिन्न सरोकारवालासँग सिक्किमका कलाकार तथा चलचित्रकर्मीका लागि सम्भावित सहकार्य र अवसरबारे छलफल गरेको जानकारी गराइएको छ। सिक्किमको सिर्जनात्मक समुदायलाई प्रवर्द्धन गर्दै चलचित्र, चलचित्रकर्मी तथा कलाकारका लागि राज्यबाहिर र अन्तरराष्ट्रियस्तरमा थप अवसर सिर्जना गर्ने निरन्तर प्रयासका रूपमा यस सहभागितालाई लिइएको छ।

प्रतिनिधिमण्डलले अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा सिक्किमको प्रतिनिधित्व गर्ने अवसर तथा सहयोगका लागि मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति आभार व्यक्त गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande