
ढाका (बंगलादेश), 0३ सेप्टेम्बर (हि.स.)। बंगलादेशमा ‘लेक सिटी’ का रूपमा परिचित तथा प्रमुख पर्यटकीय गन्तव्य रंगामातीमा कपताई तालमाथि निर्माण गरिएको झोलुङ्गे पुल डुबानमा परेको छ। केही दिनदेखि भइरहेको भारी वर्षा र पहाडी क्षेत्रबाट आएको पानीका कारण कपताई तालको जलस्तर तीव्र रूपमा बढेको हो। बंगलादेश पर्यटन निगमले सुरक्षाको कारण पुल आसपासको क्षेत्रमा जान रोक लगाएको छ। प्रवेशद्वारमा रातो झण्डा राखेर बाँसको बार लगाइएको छ। रंगामाती देशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने चटगांउ डिभिजनमा अवस्थित छ।
‘ढाका ट्रिब्युन’को रिपोर्टअनुसार, पुल बन्द भएको जानकारी नहुँदा त्यहाँ पुगिरहेका पर्यटकहरू निराश भएर फर्किनुपरेको छ। यसबाट स्थानीय पर्यटन उद्योगमा समेत ठूलो असर परेको छ। यो ताल बंगलादेशको सबैभन्दा ठूलो कृत्रिम (मानव निर्मित) ताल हो। कर्णफुली नदीमा निर्माण गरिएको कपताई बाँधका कारण यो ताल अस्तित्वमा आएको हो। ३३५ फिट लामो सुन्दर पुललाई रंगामाटी पर्यटनको प्रमुख प्रतीक मानिन्छ। यो पुल तालको बीचमा रहेका दुई पहाडलाई जोड्छ।
पुल डुबानमा परेर बन्द भएपछि स्थानीय डुंगा टर्मिनलमा इन्जिन जडित १०० भन्दा बढी डुंगा प्रयोगविहीन अवस्थामा थन्किएका छन्। परम्परागत पोसाक, कपडा तथा हस्तकलाका सामग्री बिक्री गर्ने पसलहरूमा पनि ग्राहकको अभाव देखिएको छ। केही व्यापारीहरूले बिक्री लगभग शून्यमा झरेको बताएका छन्। स्थानीय बोट ओनर्स एसोसिएसनका लिजधनी मोहम्मद फखरुल इस्लामले यो समय आफ्नो जीविकोपार्जनका लागि निकै महत्वपूर्ण रहेको बताए।
उनले भने, “यस मौसममा आउने पर्यटककै कारण हाम्रा परिवारको वर्षभरको खर्च चल्छ। तर पुल डुबेपछि हाम्रो आम्दानी पूर्ण रूपमा बन्द भएको छ। अवस्था यस्तै रह्यो भने हामीले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्नेछ।”
होटल व्यवसायी मोहम्मद सुमन मियाले झोलुङ्गे पुल रंगामाती आउने पर्यटकका लागि प्रमुख आकर्षणमध्ये एक रहेको बताए। उनले भने, “धेरै पर्यटक पुल हेर्नकै लागि रंगामाती आउँछन्। पुल डुबेपछि हरेक दिन होटल बुकिङ रद्द भइरहेका छन्। पर्यटकको संख्या घट्दा होटल, मोटेल र रेस्टुरेन्टहरू प्रभावित भएका छन्।”
रंगामाती टुरिज्म कर्पोरेसनका प्रबन्धक आलोक विकास चक्माले भारी वर्षा र पहाडबाट बगेको पानीका कारण कपताई तालको जलस्तर बढेर पुल पानीमा डुबेको बताए। उनले भने, “पर्यटकहरूको सुरक्षाका लागि हामीले रातो झण्डा राखेका छौँ र बाँसको बार लगाएर बाटो बन्द गरेका छौँ।”
रंगामाती जिल्ला परिषद्का अध्यक्ष दीपन् तालुकदार दिपुले नयाँ पुल निर्माणका लागि यसअघि नै सर्वेक्षण भइसकेको जानकारी दिए। उनले भने, “हामीलाई आशा छ कि अझ बढी उचाइमा आधुनिक नयाँ पुल निर्माणको काम चाँडै शुरु हुनेछ।”
हिन्दुस्थान समाचार / बिशाल