भाजपा सिक्किममा चार नयाँ सदस्य सामेल, प्रदेश अध्यक्षले जनाए स्वागत
भाजपा सिक्किममा चार नयाँ सदस्य सामेल


गान्तोक, 03 सेप्टेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले बिहीबार गान्तोकस्थित भाजपा सिटी कार्यालयमा आयोजित एक समन्वय बैठकका क्रममा पार्टीमा चार नयाँ सदस्यलाई स्वागत गरेको छ। नयाँ सदस्यहरूलाई भाजपा सिक्किमका प्रदेश अध्यक्ष डीआर थापाले वरिष्ठ पार्टी पदाधिकारी तथा कार्यकर्ताहरूको उपस्थितिमा औपचारिक रूपमा स्वागत गरे।

भाजपा सिक्किमद्वारा आज जारी प्रेस विज्ञप्तिका अनुसर, पार्टीमा प्रवेश गर्नेहरूमा सालघारीबाट भाजपाका पूर्व उम्मेदवार तथा पार्टीमा पुनः फर्किएका पहालमान कामी, च्याखुङका समाजसेवी येशु कुमार गुरुङ, च्याखुङकै समाजसेवी किशन गुरुङ तथा रुम्तेकका सेवानिवृत्त सरकारी अधिकारी मणि कुमार परियार रहेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष थापाले नयाँ सदस्यहरूलाई पार्टीको विचारधारा, कार्यक्रम तथा संगठनात्मक अनुशासनबारे जानकारी गराए। उनले नयाँ सदस्यहरूलाई समर्पणका साथ तल्लो तहमा काम गर्न तथा सशक्त समाज र समृद्ध सिक्किम निर्माणमा योगदान दिन आग्रह गरे।

उनले मोदी सरकारका विभिन्न कल्याणकारी योजना तथा कार्यक्रमको लाभ प्रत्येक योग्य लाभार्थीसम्म पुर्‍याउन पार्टी कार्यकर्ताहरूले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

प्रदेश अध्यक्ष थापाले आगामी ‘सेवा संकल्प अभियान’ बारे पनि चर्चा गर्दै यसको प्रमुख उद्देश्य तथा विभिन्न पक्षबारे जानकारी गराए। उनले राज्यभर अभियानलाई सफल बनाउन पार्टी कार्यकर्ताहरूलाई सक्रिय रूपमा सहभागी हुन आह्वान गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande