
गान्तोक, 05 सेप्टेम्बर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले आफ्ना नेता तथा सदस्यहरूलाई रानीपुल पुलिस थानाले कथित रूपमा दैनिकजसो सोधपुछका लागि बारम्बार र मनोमानी ढंगले बोलाइरहेको घटनाको कडा निन्दा गरेको छ।
सीएपीले स्पष्ट मुद्दा, कानुनी आधार वा आवश्यकताको जानकारी नदिई यसरी बारम्बार बोलाइनुलाई गम्भीर चिन्ताको विषय बताएको छ। यस्तो व्यवहारले विपक्षी राजनीतिक संगठनका सदस्यहरूलाई डराउन, दु:ख दिन तथा राजनीतिक दबाउ सिर्जना गर्न पुलिस संयन्त्रको दुरुपयोग भइरहेको आशंका उत्पन्न गरेको पार्टीको भनाइ छ।
संवैधानिक लोकतन्त्रमा राजनीतिक प्रतिशोधको कुनै स्थान छैन र यस्तो गतिविधि तत्काल रोकिनुपर्छ भनी जनाएको छ। सीएपीले सिक्किम पुलिसप्रति पूर्ण सम्मान रहेको स्पष्ट गर्दै कुनै पनि वास्तविक र कानुनसम्मत जॉंचको विरोध नगर्ने जनाएको छ। तर, जॉंच गर्ने अधिकारलाई बारम्बारको उत्पीडन, धम्की वा मानसिक दबाउ दिने बहानाका रूपमा प्रयोग गर्न नहुने पार्टीले बताएको छ।
पार्टीले सम्बन्धित पक्षलाई राजनीतिक असहमति अपराध नभएको, विपक्षमा रहनु अपराध नभएको र लोकतान्त्रिक राजनीतिमा सहभागिता जनाएकै आधारमा कसैलाई पुलिसको डर वा दबाउमा पार्न नसकिने आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ। पार्टीले गान्तोक जिल्लाका वरिष्ठ पुलिस अधीक्षकलाई तत्काल हस्तक्षेप गरी अनावश्यक वा मनोमानी उत्पीडन रोक्न निर्देशन दिन आग्रह गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल