
नयाँ दिल्ली, 0६ सेप्टेम्बर (हि.स.)। कांग्रेस महासचिव तथा सांसद जयराम रमेशले केन्द्र सरकारले अन्तरिक्ष क्षेत्रमा निजी कम्पनी तथा स्टार्टअपलाई प्रोत्साहन गर्ने नाममा भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को भूमिका सीमित गरिरहेको आरोप लगाएका छन्। उनले विगत छह दशकमा वैज्ञानिक तथा इसरोका कर्मचारीहरूको मेहनतबाट विकसित क्षमतालाई निजी क्षेत्रलाई सुम्पिने प्रक्रिया गम्भीर चिन्ताको विषय भएको बताए।
जयराम रमेशले आइतवार एक्समा एउटा अखबारको कटिङ साझा गरेका छन्, जसमा इसरोका नौ कर्मचारी संगठनहरूले निजीकरणलाई लिएर उठाएका प्रश्नहरूको उल्लेख गरिएको छ। उनले यसै विषयमा राज्यसभामा यसअघि दिएको आफ्नो भाषणको भीडियो पनि साझा गरेका छन्। उक्त भाषणमा उनले अन्तरिक्ष कार्यक्रमको सार्वजनिक स्वरूप तथा वैज्ञानिक संस्थानहरूको स्वतन्त्रतामा जोड दिएका थिए।
जयराम रमेशले इसरो समुदायभित्रैबाट निजीकरण विरुद्ध आवाज उठ्नु सराहनीय भएको बताए। हालैको जीएसएलभी प्रक्षेपणको सफलताको उल्लेख गर्दै उनले यो इसरोको क्षमताको प्रमाण भएको बताए। उनी अनुसार, इसरोका एक पूर्व अध्यक्षले पनि निजीकरणलाई लिएर आफ्नो चिन्ता व्यक्त गरिसकेका छन् र अन्य वैज्ञानिकहरूले पनि मौन बस्नु नहुने बताए।
उनले सरकारले अन्तरिक्ष कार्यक्रममा आक्रामक निजीकरणको दिशामा अघि बढ़िरहेको आरोप लगाए। रकेट विकास तथा निर्माणमा इसरोको भूमिका सीमित गर्ने र उपग्रह सम्बन्धी स्रोत-साधन निजी कम्पनीहरूलाई हस्तान्तरण गर्ने तयारी भइरहेको उनले दाबी गरे। उनले तमिलनाडुको कुलशेखरपट्टिनममा निर्माण भइरहेको नयाँ अन्तरिक्ष प्रक्षेपण केन्द्र तथा श्रीहरिकोटाको भविष्यलाई लिएर पनि प्रश्न उठाए।
जयराम रमेशले अन्तरिक्ष क्षेत्रमा निजी क्षेत्रको सहभागितालाई समर्थन गर्न सकिने भएपनि त्यसको अर्थ इसरोलाई कमजोर बनाउनु नहुने बताए। उनले भने, “इसरो देशको वैज्ञानिक विरासत हो र भारतले आफ्नो वैज्ञानिक मेरुदण्डसँग कुनै सम्झौता गर्न सक्दैन।”
हिन्दुस्थान समाचार / भवानी थामी