सीएपी अध्यक्षको मानेबुङ-देन्तामम दुईदिने क्षेत्र भ्रमण, जनताका समस्या सुने
सीएपीको बैठक


गान्तोक, 0७ सेप्टेम्बर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका अध्यक्ष गणेश राईको नेतृत्वमा ६ र ७ सेप्टेम्बरमा मानेबुङ-देन्ताम निर्वाचन क्षेत्रमा दुईदिने क्षेत्र भ्रमण तथा जनसम्पर्क कार्यक्रम सम्पन्न भएको छ। भ्रमणका क्रममा अध्यक्ष राईले हिगाउँ, साङ्खु, देन्ताम, इन्टेक, मिलिङ र सोपाखालगायतका स्थानमा स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरे।

अन्तरक्रियाका क्रममा स्थानीयवासीले जीर्ण सडक, पूर्वाधार तथा स्वास्थ्य सेवाको कमी, रोजगारीको समस्या, आर्थिक कठिनाई तथा गाउँ-गाउँमा देखिएको भ्रष्टाचार र पारदर्शिताको अभावजस्ता विषय उठाएका थिए। अध्यक्ष राईले स्थानीयवासीका समस्या तथा गुनासाहरू सुन्दै राजनीति जनताको दैनिक जीवन र संघर्षसँग प्रत्यक्ष रूपमा जोडिनुपर्नेमा जोड दिए।

जनसम्पर्क कार्यक्रमपछि पार्टीका नेता तथा कार्यकर्ताहरूसँग संगठनात्मक, वैचारिक तथा रणनीतिक विषयमा छलफल गरिएको थियो। विभिन्न क्षेत्रका कार्यकर्ताहरूले संगठनको अवस्था र गतिविधिबारे प्रतिवेदन प्रस्तुत गर्दै आगामी कार्यदिशाबारे विचार-विमर्श गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले नेता तथा कार्यकर्ताहरूलाई जनतासँग निरन्तर सम्पर्कमा रहँदै उनीहरूका समस्या र आवाजलाई प्राथमिकताका साथ उठाउन आह्वान गरे। उनले संगठनलाई अनुशासित, एकताबद्ध र जिम्मेवार बनाउँदै राजनीतिक सुधारको अभियानलाई तल्लो तहसम्म पुर्‍याउनुपर्नेमा जोड दिए।

दुईदिने क्षेत्र भ्रमणले ०३ मानेबुङ-देन्ताम निर्वाचन क्षेत्रमा पार्टीको संगठनलाई थप सक्रिय, एकताबद्ध र जनमुखी बनाउने पार्टीको प्रतिबद्धतालाई थप बल पुगेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande