नेपालका बाढी पीडितलाई ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा १ करोड १ लाख रुपियाँ सहयोग
ब्रह्माकुमारी द्वारा आर्थिक सहयोग प्रदान


काठमाडौं, ८ सेप्टेम्बर (हि.स.)। नेपालका बाढी पीडितका लागि ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले १ करोड १ लाख रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ। प्रभावित समुदायको पुनर्निर्माण तथा पुनर्वासका लागि उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो। केन्द्रका तर्फबाट राजयोगिनी दिदी किरणले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरिन्।

यसैबीच, ब्रह्माकुमारी नेपालले बाढीमा ज्यान गुमाउनेहरूको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम पनि आयोजना गरेको छ। सातदोबाटोस्थित वीरेन्द्र अन्तरराष्ट्रिय स्विमिङ कम्प्लेक्सको हलमा आयोजित कार्यक्रममा एक हजारभन्दा बढी राजयोगी तपस्वी प्रजापिता ब्रह्माकुमारी तथा ब्रह्माकुमारहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले ‘ॐ’ ध्वनिसहित योग-तपस्या, मौनधारण तथा दीप प्रज्वलन गरी दिवंगत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गरे। साथै शोकसन्तप्त परिवारको शान्ति र धैर्यका लागि प्रार्थना पनि गरिएको थियो।

रसुवा जिल्लामा भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोटको त्रिशूली तथा देवीघाट र धादिङलगायत विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande