बीएएसले बीएआईका अध्यक्ष हिमन्त बिस्व सरमालाई अभिनन्दन जनायो
बीएएसले बीएआईका अध्यक्ष हिमन्त बिस्व सरमालाई अभिनन्दन जनायो


गान्तोक, 11 अक्टोबर (हि.स.)। ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किम (बीएएस) ले असमका मुख्यमन्त्री तथा ब्याडमिन्टन एसोसिएशन अफ् इण्डिया (बीएआई) का अध्यक्ष हिमन्त बिस्व सरमालाई अभिनन्दन जनाएको छ। बीएएसका अध्यक्ष जेकब खालिङ, महासचिव सुकान्त दास, उपाध्यक्ष छिरिङ ग्याछो भोटिया र संयुक्त कोषाध्यक्ष सोनाम दोर्जी भोटियाले मुख्यमन्त्री तथा बीएआईका अध्यक्ष शर्मालाई सम्मान पत्र प्रदान गरे।

बीएएसद्वारा आज जारी प्रेस विज्ञप्ति अनुसार, सिक्किमका मुख्यमन्त्री तथा बीएएसका प्रमुख संरक्षक प्रेमसिंह तामाङद्वारा हस्ताक्षरित सम्मान पत्रमा देशमा ब्याडमिन्टनको प्रवर्द्धन र विकासमा डा. सरमाको उल्लेखनीय नेतृत्व र योगदानको प्रशंसा गरिएको छ।

बीएएसले राज्यमा ब्याडमिन्टनलाई अगाडि बढाउन आफ्नो दृढ प्रतिबद्धता व्यक्त गर्दै युवा खेलाडीहरूका लागि अझ बढी अवसरहरू सिर्जना गर्न जारी प्रयासहरूमा जोड दिएको छ। बीएएसले सिक्किमका खेलाडीहरूको लागि ब्याडमिन्टन पूर्वाधार, प्रशिक्षण सुविधाहरू र प्रतिस्पर्धात्मक अनुभव सुधार गर्ने उद्देश्यले सहकार्य र पहल गरिरहेको छ।

यसबाहेक, बीएएसले निकट भविष्यमा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिताहरू आयोजना गर्ने योजना बनाइरहेको बताएको छ, जसको उद्देश्य सिक्किमेली खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न र राष्ट्रिय स्तरमा बहुमूल्य अनुभव प्राप्त गर्न फराकिलो मञ्च प्रदान गर्नु रहेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande