दार्जिलिङ, 11 अक्टोबर (हि.स.)। गत 4 अक्टोबर राति आएको भीषण बाढी तथा पैह्रोको कारणले दार्जिलिङ र छेउछाउका धेरै परिवारहरू गम्भीर रूपमा प्रभावित भएका छन्। यो कठिन घडीमा दार्जिलिङका जनतासँग ऐक्यबद्धता जनाउँदै असम प्रदेश भाजपा परिवारले सहयोगका साथै ठूलो मनका साथ राहत सामग्री पठाएकोमा दार्जिलिङ भाजपाको युवा मोर्चाले धन्यवाद दिएको छ।
दार्जिलिङ भाजयुमोले यस उदार कदमको लागि असमका मुख्यमन्त्री हेमन्त बिस्व सरमा, असम प्रदेश भाजपा अध्यक्ष दिलिप सैइकिया अनि भाजपा असम प्रदेशका सम्पूर्ण परिवारप्रति धन्यवाद प्रकट गरेको छ।
भाजपा युवा मोर्चाले भनेको छ, 'तपाईहरूको यो सहयोग केवल सामग्री मात्र होइन, तर दार्जिलिङका विपदग्रस्त परिवारहरूप्रति भएको आत्मीयता, भातृत्व र निःस्वार्थ सेवा भावको प्रतीक हो। असम प्रदेशले देखाउनु भएको यो मानवीयता र सहानुभूतिले हामीलाई थप हौसला दिएको छ। कठिन समयमा देशका विभिन्न कुनाबाट हामीलाई साथ, समर्थन र सहयोग गर्ने शक्ति नै हाम्रो बल हो भन्ने कुरामा यसले पुनः पुष्टि गरेको छ।'
युवा मोर्चाले अझ भनेको छ, 'दार्जिलिङ जिल्ला भाजयुमो परिवारको तर्फबाट हामी यस पवित्र भावनाको लागि हृदयदेखि आभार व्यक्त गर्दछौं। हामी विश्वस्त छौँ—यसरी नै हामी सबै एकै परिवारको रूपमा दुख-सुखमा एकआपसमा जोडिँदै अघि बढ्नेछौँ।'
हिन्दुस्थान समाचार / हनोक