सोनादा, 11 अक्टोबर (हि.स.)। रंगबुल धोत्रे रंगमुक समष्टि अन्तर्गत धोत्रे कलेजभेल्ली ग्राम पञ्चायतको अप्पर कलेज भेल्लीको बीच गाउँ र धोत्रे तामाङ टोल गाउँका पैह्रोले प्रभावित परिवारहरुलाई सुरक्षित स्थानमा स्थानान्तरित गर्नका लागि जमीनको सर्वे शुरु भएको छ। गत केही दिन अघि मात्र रंगबुल धोत्रे रंगमुक समष्टिका विभिन्न पैह्रोग्रस्त क्षेत्रहरुको दार्जिलिङ जिल्ला शासक डा प्रीति गोयल र जीटीएको डेपुटी चेयरम्यान एवं क्षेत्रीय सभासद राजेस चौहानले निरीक्षण भ्रमण गरेका थिए।
उक्त निरीक्षणपछि आजदेखि पहिलो चरणको जमीन सर्वेक्षणको कार्य शुरु गरिएको छ। उक्त जमीन सर्वेक्षणको लागि आज जीटीएको डेपुटी चेयरम्यान एवं क्षेत्रीय सभासद राजेस चौहान, धोत्रे कलेजभेल्ली ग्राम पञ्चायतकी पञ्चायत प्रधान अनिता तामाङ, सुखे पोखरी खण्डको भूमि अनि भूमि सुधार विभागका बीएलआरओ र अन्य अधिकारीहरु, सुखे पोखरी खण्ड पञ्चायत समितिका कर्माध्यक्ष जीवन प्रधान पञ्चायत सदस्यहरु र स्थानीय प्रतिनिधिहरु उपस्थित रहेका थिए।
यस पहिलो चरणको सर्वेक्षणमा यस समष्टिको धोत्रे ग्राम पञ्चायत अन्तर्गत अप्पर कलेजभेल्लीको बीच गाउँको वार्ड नम्बर 3 बाट चार परिवार, धोत्रेको तामाङ टोल वार्ड नम्बर 2 बाट 15 परिवारहरुको लागि धोत्रे चियाबारीको खाली ठाउँमा जमीनको सर्वे गरिएको छ। यस प्रकारको सर्वेक्षण पैह्रोले प्रभावित रंगबुल धोत्रे रंगमुक समष्टिको अन्य विभिन्न स्थानहरुमा पनि गरिने भएको जानकारी प्राप्त भएको छ।
अप्पर कलेज भेल्ली क्षेत्रका पैह्रो प्रभावित परिवारहरुलाई राखिएको रिलिफ क्याम्पमा डेपुटी चेयरम्यान एवं क्षेत्रीय सभासद राजेस चौहान आज पनि विभिन्न सर सामानहरु लिएर पुगेका थिए।
हिन्दुस्थान समाचार / हनोक