राज्यपालले सिक्किम प्रेरणा स्थलमा 70 फीटको राष्ट्रिय ध्वज उद्घाटन गरे
राज्यपालले सिक्किम प्रेरणा स्थलमा 70 फीटको राष्ट्रिय ध्वज उद्घाटन गरे


गान्तोक, 11 अक्टोबर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आज सिङताम छेउ बरदाङस्थित प्रेरणा स्थलमा आयोजित 184औं राष्ट्रिय ध्वज उद्घाटन समारोहमा 70 फीट अग्लो राष्ट्रिय ध्वजको उद्घाटन गरे। उक्त राष्ट्रिय ध्वज राज्य पर्यटन विभाग, फ्ल्याग फाउन्डेशन अफ् इण्डिया र ब्ल्याक क्याट डिभिजनको संयुक्त प्रयासमा स्थापना गरिएको राजभवनले बताएको छ।

समारोहमा सड़क एवं पुल विभागका मन्त्री एनबी दाहाल, पश्चिम पाण्डाम निर्वाचन क्षेत्रका विधायक एलबी दास, ब्ल्याक क्याट डिभिजनका जीओसी मेजर जनरल एमएस राठौड़, पर्यटन विभागकी सचिव होन्डाला ग्याल्छेन, फ्ल्याग फाउण्डेशन अफ् इण्डियाका सीईओ मेजर जनरल अशिम कोहली, विद्यार्थीहरू आदि उपस्थित थिए।

समारोहमा आफ्नो सम्बोधन राख्दै राज्यपालले भने, यो प्रेरणा स्थल केवल श्रद्धाञ्जली स्थल होइन, यो स्थल सिक्किममा भारत रणभूमि दर्शनको यात्राभन्दा अघि पर्यटकहरूलाई भारतीय सैनिकहरूको साहस र योगदानबारे गहन रूपमा बुझ्न मद्दत गर्नेछ।

राज्यपालले भने, जसरी मानिसहरू डोकाला, नथुला र चो ला पास जस्ता रणभूमि स्थलहरूमा पुगेर देशको रक्षा गाथा महसुस गर्छन्, सोही प्रकारले सिक्किम प्रेरणा स्थल पनि एउटा यस्तो स्थान बन्नुपर्छ जहॉं मानिसहरू आएर वीरता, बलिदान र गौरवको जीवन्त अनुभूति गर्न सकुन्। उनले यो केवल एक स्मारक नभई देशभक्तिको गौरवको प्रतीक रहेको बताए, जसले भावी पुस्तालाई प्रेरणा दिइरहनेछ।

मेजर जनरल अशिम कोहलीले राष्ट्रिय ध्वजको भावनामाथि प्रकाश पार्दै यसले प्रत्येक नागरिकलाई राष्ट्रिय गौरव र देशभक्तिसॅंग जोड्दछ भनी बताए। कार्यक्रममा मद्रास रेजिमेन्टले कलारीपयट्टु प्रदर्शन एवं पीएम श्री सरकारी उच्च माध्यमिक विद्यालय, सिङतामका विद्यार्थीहरूले देशभक्ति नृत्य प्रस्तुत गरेका थिए। यस अवसरमा प्रेरणा स्थलमाथि आधारित एउटा लघु फिल्म पनि प्रदर्शन गरियो।

राज्यपालले ब्ल्याक क्याट डिभिजनका जीओसीसहित वीरगति प्राप्त सैनिकहरूको स्मृतिमा पुष्पाञ्जलि अर्पित गरे तथा सबै शहीहरूको नाम स्थायी रूपमा स्थलमा अंकित गर्न निर्देश पनि दिए। उनले पर्यटन विभागकी सचिवलाई सिक्किम प्रेरणा स्थललाई महत्वपूर्ण पर्यटक केन्द्र बनाउन यसको सौन्दर्यकरण गरेर आकर्षक बनाउने अनुरोध गरे। उनले भारतीय सेना, पर्यटन विभाग, फ्ल्याग फाउण्डेशन अफ् इण्डिया र 17 माउण्टेन डिभिजनलाई यस सामूहिक प्रयासको लागि आभार प्रकट गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande