गान्तोक, 11 अक्टोबर (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाहको सिक्किम भ्रमणलाई लिएर तयारी तीव्र रूपमा चलिरहेको छ। यस क्रममा सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको आज एक समन्वय बैठक सम्पन्न भयो। मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशन र मार्गदर्शनमा आयोजित उक्त बैठकको अध्यक्षता मन्त्री जीटी ढुङ्गेलले गरेका थिए।
बैठकमा एसकेएम पार्टीका सेक्रेटरी जनरल एवं मन्त्री अरुण उप्रेती, मुख्यमन्त्रीका सल्लाहकार विष्णु प्रसाद खतिवडा, विधायक तेन्जिङ लाम्टा, मुख्यमन्त्रीका राजनीतिक सचिव बिकास बस्नेत, उपमेयर छिरिङ पाल्देन भोटिया तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
समन्वय बैठक आयोजन गर्नुको मुख्य उद्देश्य केन्द्रिय गृहमन्त्री अमित शाहको आगामी 25 र 26 अक्टोबर, 2025 मा हुने सिक्किमको दुई दिने भ्रमणको क्रममा निर्धारित कार्यक्रमहरूको सफल कार्यान्वयन सुनिश्चित गर्नु र तयारीलाई सुव्यवस्थित गर्नु रहेको थियो।
एसकेएम पार्टी अनुसार, केन्द्रिय गृहमन्त्री अमित शाह 25 अक्टोबरका दिन राजधानी आइपुग्नेछन्। एकता र विविधताको उत्सवमा, राज्यभरका समुदायहरू एकसाथ भेला भएर सिक्किमको बहुजातीय समाजको समृद्ध परम्परा, रीतिरिवाज र सम्पदालाई प्रतिबिम्बित गर्ने जीवन्त सांस्कृतिक प्रदर्शनी प्रस्तुत गर्नेछन्।
विभिन्न समुदायका लोक सङ्गीत, परम्परागत नृत्य र आदिवासी पोशाकलाई एकता, सम्मान र उत्सवको प्रतीकको रूपमा व्यवस्थित रूपमा प्रस्तुत गरिनेछ। सांस्कृतिक प्रस्तुतीकरणहरूको उद्देश्य अतिथिलाई सम्मान गर्नु मात्र नभई सिक्किमका समुदायहरूको सामंजस्यपूर्ण सहअस्तित्वलाई गर्वका साथ उजागर गर्नु पनि हो।
26 अक्टोबरका दिन केन्द्रिय गृहमन्त्री शाह रिनाक जानेछन्, जहॉं भाइब्रेन्ट भिलेज कार्यक्रमको शुरुवात गर्नेछन्।
भ्रमणको क्रममा हुने सबै कार्यक्रमहरू सटीकता, गरिमा र सांस्कृतिक समृद्धिका साथ सम्पन्न गर्न विस्तृत योजना र समन्वय भइरहेको एसकेएमले बताएको छ। समन्वय बैठकले निर्बाध कार्यान्वयन, समुदायको सहभागिता र सुरक्षा तयारीको आवश्यकतामा जोड दिएको बताइएको छ।
एसकेएमले केन्द्रिय गृहमन्त्री अमित शाहको भ्रमण राज्यको लागि गर्वको क्षण रहेको बताउॅंदै यस अवसरलाई सिक्किमको एकता, विविधता र सांस्कृतिक मूल्यमान्यताहरूको प्रतिबिम्ब बनाउन तयारीहरू चलिरहेको बताएको छ।
हिन्दुस्थान समाचार / बिशाल