सोनादा, 11 अक्टोबर (हि.स.)। गत 4 अक्टोबर राति आएको अविरल वर्षाका कारण आएको पैह्रोले सोनादा पचेङ समष्टिको मुण्डाकोठी ग्राम पञ्चायत अन्तर्गत फूलबारीको होप टाउन क्षेत्रको धरती नै हल्लाएर लगे पनि स्थानीयहरुको सामूहिक प्रयास, जोश र जाँगरको कारणले पैह्रोको चोटबाट पुनःनिर्माणतर्फ लम्किरहेको छ। स्थानीय मानिसहरुले रात दिन खटेर योगदान दिइरहेका छन्।
गाउँमा भएको क्षय क्षतिको पुनःनिर्माणको लागि स्थानीयहरु सबैले मिलेर पहल गरिरहेका छन् भने सामूहिक रुपमा काम गर्दै पैह्रोले दिएको चोटबाट बाहिर निस्कन प्रयासरत छन्। गाउँमा आइपरेको दु:ख र पीढालाई सबैले मिलेर सामाधान गर्ने दिशामा हातेमालो गर्दै अघि बढ्ने कार्य गरिरहेका छन्।
फूलबारी होप टाउन क्षेत्रमा गत 4 अक्टोबरको राति आएको अविरल पानीझरीले पैह्रो गएर एकजना महिलाको मृत्युसहित धेरै घरहरु क्षतिग्रस्त भएको छ। पैह्रोले तीनवटा घरहरु पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ भने गाउँका सबै 72 घरहरु पैह्रोले प्रभावित बनाएको छ। पैह्रो प्रभावित परिवारहरुलाई होप टाउनको सार्वजनिक भवनमा राखिएको छ। तर उक्त सार्वजनिक भवन पनि असुरक्षित रहेको स्थानीयहरुले बताएका छन्।
यस क्षेत्रका पैह्रो प्रभावित परिवारहरुलाई चॉंडो पुनर्वास गरिनु आवश्यक देखिएको छ। पैह्रोले यस क्षेत्रको रोड पनि सबै बन्द भएको थियो। विशेष गरेर तामसिङधुरादेखि फूलबारी होप टाउन हुँदै मुण्डाकोठी जाने रोडको विभिन्न स्थानहरुमा पैह्रो गएर यातायात बन्द रहेको थियो भने स्थानीयहरुको पहलमा चारैतिर गुहार लगाएपछि लगभग 5-6 दिनपछि उक्त रोड खोलाउन सफल बने।
स्थानीय सुकदेव राईको अगुवाईमा पैह्रो प्रभावितहरुलाई सहायता गर्न साथै पैह्रोले गरेको क्षय क्षतिमाथि स्थानीयहरुले सामूहिक रुपमा मिलेर काम गरिरहेको जानकारी प्राप्त भएको छ। सुकदेव राईले भने, पैह्रोले फूलबारी होप टाउन क्षेत्रमा ठूलो क्षति गरेको छ, धेरै घरहरुलाई क्षति पुऱ्याएको छ भने एक महिलाको समेत मृत्यु भएको छ। उनले यस क्षेत्रमा पैह्रोले गरेको क्षतिको सम्पूर्ण विवरण जीटीए प्रमुख अनित थापा, क्षेत्रीय सभासद, सुके पोखरी खण्ड विकास कार्यालय र मुण्डाकोठी ग्राम पञ्चायतलाई पनि जानकारी गराइएको बताए। उनले पैह्रोले दिएको चोटबाट निस्कनलाई समाज नै मिलेर सामूहिक रुपमा कार्य गरिरहेको बताए।
सोनादा पचेङ समष्टिको पूर्व सभासद महेन्द्र प्रधानले यस क्षेत्रमा धेरै घरहरुलाई क्षति पुऱ्याएको बताउॅंदै निरीक्षण गरेर मात्र होइन, तर पीडितहरुलाई समाधान पनि चाहिन्छ भनी बताए। उनले पैह्रो प्रभावितहरुलाई बगानसित कुरा गरेर घर निर्माण गरिदिनु पर्ने र यो समयमा बगानमा सबैको हाजिरा पनि लाग्नु पर्ने माग राखेका छन्।
हिन्दुस्थान समाचार / हनोक